नेपालमा आर्थिक वर्षको पहिलो महिनामा एक खर्ब उनन्तिस अर्बको आयात र तेह्र अर्बको निर्यात
2023-08-24 16:12:02cri
Share with:

 

चालु आर्थिक वर्षको पहिलो साउन महिनामा नेपालमा एक खर्ब २९ अर्ब रुपियाँको सामान आयात हुँदा १३ अर्ब रुपियाँको सामान निर्यात भएको छ। भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार साउनमा निर्यात ८.६५ प्रतिशतले घटेको छ। गत वर्ष साउनमा १४ अर्ब ८० करोड ९७ लाख रुपियाँ बराबरको निर्यात भएकामा अहिले घटेर १३ अर्ब ५२ करोड ८६ लाख रुपियाँ बराबरको सामान निर्यात भएको तथ्याङ्क रहेको गोरखापत्र अनलाइनले लेखेको छ। 

साउनमा आयात पनि १.५६ प्रतिशतले घटेको छ। गत वर्षको साउनमा एक खर्ब ३१ अर्ब २८ करोडको वस्तु आयात भएकामा गएको चालु आवको साउन महिनामा एक खर्ब २९ अर्ब २३ करोडको वस्तु आयात भएको हो।

वैदेशिक व्यापार समग्रमा २.२८ प्रतिशतले घटेको छ। गत साउनमा एक खर्ब ४६ अर्ब नौ करोड रुपियाँको वस्तु आयात भएकामा यस वर्ष साउनमा एक खर्ब ४२ अर्ब ७६ करोड रुपियाँको निकासी भएको छ।

व्यापार घाटा गत वर्षको भन्दा ०.६६ प्रतिशतले घटेको छ। गत वर्षको साउनमा एक खर्ब १६ अर्ब ४७ करोडको व्यापार घाटा भएकामा यस वर्ष एक खर्ब १५ अर्ब ७१ करोड रुपियाँ बराबरको व्यापार घाटा भएको विभागको तथ्याङ्कमा उल्लेख छ। 

साउन महिनामा सबैभन्दा धेरै सात अर्ब ३४ करोड ७१ लाख २५ हजार रुपियाँ बराबरको ७६ हजार ७१६ किलोलिटर डिजेल आयात भएको छ। पाँच अर्ब ४४ करोड ७० लाख ७६ हजार रुपियाँको ५६ हजार ९०१ किलोलिटर पेट्रोल र तीन अर्ब २२ करोड ८७ लाख रुपियाँको एलपी ग्यास आयात भएको छ। तीन अर्ब ७४ करोड ७२ लाख २८ हजार रुपियाँको आइरन आयात भएको छ। 

तीन अर्ब ३६ करोड ५१ लाख ४५ हजार रुपियाँको स्टिल, दुई अर्ब ८६ करोड ८४ लाख रुपियाँको स्मार्ट फोन आयात भएको विभागको तथ्याङ्क छ।