दुई महिनामा मनसुनजन्य विपत्तीबाट ७२ को मृत्यु, ९ अर्ब २९ करोडको क्षति
2023-08-24 16:14:12cri
Share with:

नेपालमा मनसुन सुरु भएको दुई महिना बित्दा ठुलो जनधनको क्षति भएको छ। भदौ ६ गते (बुधबारसम्म) मनसुनजन्य बाढी, पहिरो तथा चट्याङबाट अहिलेसम्म ७२ जनाको मृत्यु भएको छ। ११५ जना घाइते भएका गोरखापत्र अनलाइनले लेखेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काका अनुसार पहिरोबाट सबैभन्दा बढी ३८ जनाको मृत्यु भएको छ। बाढीबाट ११ जनाको ज्यान जाँदा चट्याङबाट २१ जनाको ज्यान गएको छ। भारी बर्षाका कारण दुई जनाको ज्यान गएको उहाँले बताउनुभयो। खड्काका अनुसार मनसुनका कारण नौ अर्ब २९ करोड बराबरको क्षति भएको छ।

चट्याङ्ले सबैभन्दा बढी घाइते भएका छन्। यसबाट ४३ जना घाइते भएको देखिएको छ। पहिरोबाट ४० जना घाइते हुँदा बाढीबाट पाँच जना घाइते भएका छन्। भारी बर्षाका कारण १२ जना घाइते भएका छन्। सबैभन्दा बढी बाढीबाट बेपत्ता भएका छन्।

बाढीबाट २० जना बेपत्ता हुँदा पहिरोबाट नौ बेपत्ता छन्। नेपालमा मनसुन भित्रिएसँगै पूर्वमा ठुलो पानी परेकाले त्यहाँ धेरै क्षति भएको छ। उहाँले भन्नुभयो, ‘‘यसपालिको मनसुनको दुई महिनाको क्षतिलाई विश्लेषण गर्दा सबैभन्दा बढी मानवीय क्षति पहिरोबाट भएको छ। बाढी र पहिरोले पूर्वी भागमा क्षति पनि बढी भएको छ।’’