नेपालको लगानी बोर्डद्वारा चार जलविद्युत् आयोजनाका लागि ३६ अर्ब लगानी स्वीकृत
2023-08-26 16:09:46cri
Share with:

नेपालको लगानी बोर्डले चार वटा जलविद्युत् आयोजना निर्माणका लागि कुल ३६ अर्ब ३७ करोड रुपियाँ लगानी स्वीकृत गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा शुक्रबार सम्पन्न बोर्डको ५५ औँ बैठकले २२ मेगावाटको रोल्वालिङ खोला, ६३ मेगावाटको छुजुङ्ग खोला, ४९.९५ मेगावाटको दानाखोला र ४४.५२ मेगावाटको सानीभेरी जलविद्युत् परियोजनाका लागि लगानी स्वीकृत गरिएको लगानी बोर्डको कार्यालयले जनाएको गोरखापत्र अनलाइनले लेखेको छ। 

बैठकले दाङको राजपुरमा २४५ मेगावाट र २० मेगावाट ब्याट्री क्षमताको सौर्य ऊर्जा परियोजनाको अध्ययनका लागि डोल्मा हिमालयन इनर्जीलाई अध्ययन अनुमतिपत्र दिने निर्णय गरेको छ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले कार्यान्वयनमा रहेका परियोजना समयमा सम्पन्न गर्न प्रभावकारी समन्वय र लगानी स्वीकृति तथा परियोजना कार्यान्वयनसम्बन्धी प्रक्रियाहरूलाई छोट्याउँदै छिटोछरितो र परिणाममुखी रूपमा कार्य सम्पादन गर्न निर्देशन दिनुभएको छ। 

बोर्डले माथिल्लो कर्णाली जलविद्युत् परियोजनाका सम्बन्धमा सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयन गर्न मन्त्रीपरिषद्मा प्रस्ताव पेस गर्ने निर्णय गरेको छ। यसका अतिरिक्त बैठकले रासायनिक मल कारखाना स्थापना सम्बन्धमा अध्ययनका लागि मलेसियन कम्पनी रेनिकोलासँग गरिने समझदारीको मस्यौदा स्वीकृत गरेको छ।

बैठकले दमकस्थित चीननेपालमैत्री औद्योगिक पार्कको विकासकर्तासँग वार्ता गरी परियोजना विकास सम्झौता (पिडिए) को अन्तिम मस्यौदा तयार गर्न लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा वार्ता समिति गठन गर्ने निर्णय गरेको छ। 

लगानी बोर्डको कार्यालयमा सम्पन्न बैठकले तमोर जलाशययुक्त जलविद्युत् परियोजना कार्यान्वयन अघि बढाउन हालसम्मको विकास क्रमको समीक्षा गर्दै परियोजनाको भावि कार्यदिशासम्बन्धी सुझाव पेस गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय पनि गरेको जनाइएको छ। 

बैठकमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले बोर्डबाट सम्पादित गतिविधि तथा ५४ औँ बोर्ड बैठकको निर्णयहरूको कार्यान्वयन अवस्था र ५५ औँ बोर्ड बैठकका कार्यसूचीका सम्बन्धमा सङ्क्षेपमा प्रस्तुत गर्नुभएको थियो।