बागमती नदीमा र्‍याफ्टिङ सरर...
2023-08-26 16:11:48cri
Share with:




बागमती नदीमा र्‍याफ्टिङ गरेर 'बागमती नदी महोत्सव' गरिएको छ। 

बागमती तथा यसका सहायक नदीहरूको बिग्रदो अवस्थालाई सुधार गर्न नेपाल नदी संरक्षण संस्था र नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सीज (नारा) ले शनिबार 'बागमती नदी महोत्सव' गरेको सेतोपाटी अनलाइनले लेखेको छ।

अगष्ट २६ तारिख शनिबार बिहान ७ बजे थापाथलीबाट सुरू भएको जलजात्रा सुन्दरीघाटमा पुगेर टुंगिएको छ। पवित्र बागमती नदीलाई संरक्षण गर्न काठमाडौंवासीहरूको माझमा बागमती नदी र यसका सहायक नदीहरूको स्थिति बारेमा जानकारी दिँदै बागमती नदीलाई माछा बाँच्न योग्य, पौडी खेल्न र पानी खान योग्य, तथा मृतकहरूको लागि शुद्ध जल तर्पण योग्य बनाउने जलजात्रा कार्यक्रमको मुख्य उद्धेश्य रहेको नेपाल एशोसिएशन अफ र्‍याफ्टिङ एजेन्सीजका अध्यक्ष शिव अधिकारीले जानकारी दिनुभयो।

'नदीको समुचित संरक्षण गरी यी क्षेत्रमा भएका सम्पूर्ण मठमन्दिर, देवस्थल, चिहान, धर्मशाला आदि सबैको जीर्णोद्वार र पुनः निर्माण गरी एकपटक फेरि विश्वलाई काठमाडौं उपत्यकाको सभ्यता र संस्कृतिको पहिचान गराउन सफल हुनेछौं,' उहाँले भन्नुभयो, 'बागमती नदीको मौलिक स्वरूप फर्काउन हामी सफल भयौं भने हाम्रो संस्कृतिका हराइसकेका र हराउन लागेका मूर्त, अमूर्त सम्पदा फेरि देखा परी विश्वलाई नै एउटा नौलो र बेग्लै पहिचान दिन समर्थ हुनेछौँ।'

बागमती नदिमा सदाबहार र्‍याफटिङ गराएर पर्यटकलाई समेत आकर्षण गराउन सकिने भएकाले यस जलजात्राको अत्यन्तै महत्व रहेको समेत उहँले बताउनुभयो।

नेपाल नदी संरक्षण संस्था, र नेपाल एसोसिएसन अफ र्‍याफटिङ एजेन्सीज तथा फेण्ड्स क्लव कुपण्डोलको संयुक्त आयोजनामा र नेपाल पर्यटन वोर्डको प्रवर्द्धन साथै अन्य विभिन्न संघसंस्थाहरूको सहकार्यमा कार्यक्रम भएको हो।

उक्त जलजात्रामा सरकारी निकाय, सञ्चारकर्मी, विद्यार्थी, स्थानीय, बागमती सफाई अभियन्ता, अधिकारकर्मी, वातावरण क्षेत्रमा कार्यरत संघसंस्था, रिभर गाइड तथा अन्य विभिन्न व्यक्तिहरू गरी करिब एक हजार जनाको सहभागिता जनाएको आयोजक संस्थाले जानकारी गराएको छ।