९ वर्षमा ३ हजार १ सय सर्किट किलोमिटर विद्युत् प्रसारण लाइन थपियो
2023-08-28 16:21:04CRI
Share with:

नेपालको विद्युत् प्रसारण प्रणालीमा विगत नौ वर्षमा तीन हजार एक सय १८ किलोमिटर सर्किट प्रसारण लाइन थपिएको छ। पछिल्लो पटक प्राधिकरणले प्रसारण र वितरणतर्फका पूर्वाधार संरचनाको विस्तार र सुधारलाई उच्च प्राथमिकताका साथ अगाडि बढाएको छ। प्राधिकरणले प्रसारण र आयोजना व्यवस्थापन निर्देशनालयमार्फत प्रसारण लाइन तथा सबस्टेसन आयोजनाहरुको निर्माण गरिरहेको छ। विद्युत् गृहहरूबाट उत्पादित विद्युत् ग्राहकको घरसम्म पुर्‍याउन प्रसारण तथा वितरण लाइन र सबस्टेसनहरुको आवश्यकता पर्दछ।

कान्तिपुर अनलाइनका अनुसार विगत नौ वर्षमा ग्रिड सबस्टेसनहरुको क्षमता ८ हजार ८ सय ६७ एमभीए पुगेको छ। नौ वर्षअघि अर्थात् आर्थिक वर्ष २०७१/७२ मा सबस्टेसनहरुको क्षमता २ हजार १ सय ३२ एमभीए मात्र रहेकोमा आव २०७९/८०मा आइपुग्दा सबस्टेसनको क्षमता ६ हजार ७ सय ३५ एमभीए बढेको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार आव २०७१/७२मा ६६ र १३२ केभीबाट मात्र विद्युत् प्रसारण भइरहेकोमा अहिले ६६, १३२, २२० र ४०० केभी लाइनहरु सञ्चालनमा छन्। 

आव २०७१/७२मा २ हजार ६ सय २४ सर्किट किलोमिटर प्रसारण लाइन रहेकोमा हाल ३ हजार १ सय १८ सर्किट किलोमिटर थपिएर आव २०७९/८० मा ५ हजार ७ सय ४२ सर्किट किलोमिटर पुगेको छ । आव २०७२/७३सम्म ६६ र १३२ केभी लाइन मात्र प्रसारण लाइन रहेकोमा आव २०७३/७४बाट २२० र ४०० केभी प्रसारण लाइन सञ्चालनमा आएका हुन् । अहिले प्रणालीमा ६६ र १३२ केभी प्रसारण लाइनको लम्बाइ क्रमश: ५ सय १४ र ३ हजार ९ सय ७९ सर्किट किलोमिटर छ।

यसैगरी, २२० र ४०० केभी प्रसारण लाइनको लम्बाइ क्रमश : १ हजार १ सय १ र १ सय ४८ सर्किट किलोमिटर छ । आव २०७५/७६मा सबैभन्दा बढी अर्थात ६ सय ६ सर्किट किलोमिटर प्रसारण लाइन थपिएको छ भने आव २०७४/७५मा सबैभन्दा कम १ सय ४१ सर्किट किलोमिटर लाइन थपिएको छ । गत आवमा ४ सय १३ किलोमिटर सर्किट किलोमिटर प्रसारण लाइन प्रणालीमा थपिएको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राविधिक कारणले समय–समयमा विद्युत् गएको भन्ने उपभोक्ताको गुनासोलाई सम्बोधन गर्न र पर्याप्त, भरपर्दो, गुणस्तरीय तथा सुरक्षित विद्युत् आपूर्तिका लागि विगतका वर्षहरुबाट प्रणालीका पूर्वाधार संरचनाहरुको सुधार र सुदृढीकरणलाई योजनावद्ध रुपमा अगाडि बढाएर कार्यान्वयन लगिएको बताउनुभयो।