चिनियाँ ट्रकमा नेपाली बसको यात्रा
2023-08-28 16:09:25CRI
Share with:

रसुवाको केरुङ नाकाबाट चीनको तिब्बती मार्ग हुँदै नेपाल र चीनको सिमाना हिल्सामा पहिलो पटक बस पु-याइएको छ । राष्ट्रिय सडक सञ्जालसँग उत्तरी हुम्ला नजोडिएको भए पनि हिल्सा–सिमकोट खण्डमा यातायात सेवा सञ्चालन गर्न बस चिनियाँ ट्रकमा ढुवानी गरेर ल्याइएका हुन् । ट्रकले बस बोकेको भाडा सात लाख रुपियाँ रहेको बताइएको छ ।

यातायात व्यवसायी विजय लामाले पहिलो पटक सार्वजनिक यातायात हिल्सामा पु-याउनु भएको हो । हाललाई दुई वटा बस हिल्सामा ल्याइएका छन् । उहाँले कर्णाली कोरिडोरको हिल्सा–सिमकोट खण्डको ९५ किलोमिटर दूरीमा यातायात सेवा सञ्चालनका लागि बस ल्याइएको बताउनुभयो । बस चल्ने सडक भने कच्ची छ।

उहाँले हुम्लावासीको माग अनुसार जिल्ला सदरमुकाम सिमकोटदेखि हिल्सा सडक खण्डमा सञ्चालन हुने गरी बस ल्याइएको बताउनुभयो । हाल स्थानीयका बोलेरो जिपले उक्त सडक खण्डको सिमकोटबाट हिल्सासम्म रिजर्भ गर्दा पचास हजार रुपियाँ भाडा लिएर यात्रु ओसार्ने कार्य गर्दै आएका छन् । सो भाडा अनुसार प्रतियात्रु छ हजारभन्दा बढी पर्न आउँछ । उहाँले छोटै दूरीको यात्रा निक्कै धेरै महँगो रहेको र त्यसमा पनि भनेको बेला सवारी नपाइने समस्या रहेको बताउनुभयो। यसअघि एउटा बस हिल्सा आइपुगेको थियो भने तीन दिनको यात्रापछि आइतबार साँझ अर्को बस पनि हिल्सामा आइपुगेको छ।

अब ती बस हिल्साबाट सदरमुकाम सिमकोट छ घण्टामा पुग्ने छन् । उहाँले भाडा दर मिलाएर निर्धारण गरिने बताउनुभयो । २५ सिट क्षमताका दुई वटा बसको लागत करिब एक करोड रहेको व्यवसायी लामाले बताउनुभयो ।

बसको बडी सुर्खेतमा तयार गरिएको थियो । हिल्सा पुगेका बस सुर्खेतमा रहेको हिल्सा पब्लिक यातायात प्रालिमा आबद्ध गराइएको छ । बसमार्फत सेवा दिँदा भाडादर सस्तो बनाउने तयारी उहाँको छ । हिल्सा नाकामा बस लिन सवारी चालक सिमकोटबाट हिल्सा पुगिसक्नु भएको छ । दुवै बस सिमकोटमा पुगेपछि चाँडै नियमित रूपमा सिमकोट–हिल्सा सडक खण्डमा सञ्चालन गर्ने तयारी छ ।

चीनको सडकमा बस गुडाएर लैजान नमिल्ने भएकाले ट्रकमा लोड गरेर बस पठाइएको हो । चिनियाँ सडकमा नेपाली नम्बर प्लेटका गाडी गुडाउने अनुमति नहुँदा केरुङदेखि  ट्रकमा लोड गरी ल्याउनु परेको हो। गोरखापत्र अनलाइन।