रसुवाबाहिरका ट्रक चालकलाई पनि केरुङ जान अनुमतिपत्र जारी गरिँदै
2023-08-28 16:02:30CRI
Share with:

चीनसँग सीमा जोडिएको नेपालको रसुवाबाहेकका जिल्लाका ट्रक चालकलाई पनि चीनको केरुङसम्म जान अनुमतिपत्र जारी हुने भएको छ। अध्यागमन विभागको निर्देशनपछि अध्यागमन कार्यालय टिम्मुरे रसुवाले अन्य जिल्लाका ट्रक चालकलाई पनि केरुङ प्रवेशको अनुमतिपत्र जारी गर्न लागेको हो ।

अध्यागमन कार्यालय रसुवाका प्रमुख चूडामणि अर्यालले यसै महिनाको अन्तिमबाट केरुङ प्रवेशको पास जारी गर्ने तयारी भइरहेको बताउनुभयो। ‘विभागबाट पास जारी गर्न निर्देशन भएको छ,’ अर्यालले भन्नुभयो, ‘अभिलेखीकरणका आवश्यक सबै बन्दोबस्त गरिरहेका छौं । यसै महिनाको अन्तिमबाट पास जारी हुन्छ ।’ 

अहिले जिल्ला प्रशासनको अनुमतिका आधारमा रसुवाका स्थानीयहरु एक वर्षसम्म चीनतर्फ कामका लागि बस्न पाउने गरी पास जारी भइरहेको अर्यालले बताउनुभयो। सोही प्रावधान अनुसार हाल मालवस्तु ढुवानी गर्ने ट्रक तथा कन्टेनर चालकका रुपमा रसुवा जिल्लाका चालकलाई मात्रै केरुङ प्रवेशको अनुमति प्राप्त हुन्छ । 

एउटै जिल्लाका चालकलाई मात्रै माल वस्तु आयात गर्ने अनुमति हुँदा जनशक्तिको अभावको समस्या भएको भन्दै व्यवसायीहरुले अध्यागमन विभागको ध्यानाकर्षण गराएका थिए। चिनियाँ पक्षसँग छलफल भइसकेको भन्दै गत साता विभागले अनुमतिपत्र जारी गर्ने तयारी थाल्न परिपत्र गरेको थियो। २०७६ चैतमा कोभिड महामारी देखिएपछि नाकाबाट मानव आवजावत ठप्प भएको थियो । १८ चैत २०७९ मा नेपाल चीन स्थलमार्ग भएर मानिसहरुको आवजावत खुला गर्न नेपाल र चिनियाँ पक्षबीच समझदारी भएको थियो। त्यसलगत्तै रसुवाका नागरिकहरुले केरुङ प्रवेशको अनुमति पाउन थाले पनि अन्य जिल्लाका मानिसका लागि प्रवेश अनुमति अझै बन्द छ। कोभिड महामारी अघि नेपाली नागरिक, व्यवसायी, श्रमिक तथा चालकहरुले प्रवेशाज्ञा लिएर केरुङ प्रवेश पाउँथे। 

१८ चैतमा भएको समझदारीअनुसार रसुवागढी नाका सहज बनाउन र तातोपानी नाकाबाट पनि मानिसहरुको आवाजावत खुलाउने तयारी अन्तिम अवस्थामा पुगेको सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेका अनुसार १५ असोजसम्म तातोपानी नाकाबाट मानिसहरु आवाजावत खुल्ला गर्न चीनले सहमति जनाएको अनलाइनखबरले जनाएको छ।