तिब्बती मार्ग हुँदै खाद्यान्न हिल्सा पुग्यो
2023-08-30 16:05:52CRI
Share with:

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले काठामाडौबाट रसुवाको केरुङ नाका हुँदै तिब्बती मार्ग भएर आएको खाद्यान्न हिल्सामा आइपुगेको छ । खाद्यान्न लोड भएका गाडीहरूले केरुङबाट तिब्बती मार्ग हुँदै चीनको ताक्लाकोटबाट हिल्सा आई पुग्न तीन दिन लगाएको गोरखापत्र अनलाइनले खबर लेखेको छ।

हुम्लाका लागि खाद्यान्न बोकेका चालीस वटा गाडी मङ्गलबार बेलुका हिल्सा आइपुगेको लिमिटेड सिमकोट शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीले बताउनुभयो। तीन दिन अगाडि खाद्यान्न लोड भएका ४० गाडी काठमाडौँबाट छुटेका थिए। जिल्लामा खाद्यान्नको समस्या भएको बेला लिमिटेडले चार हजार क्विन्टल खाद्यान्न पैदल मार्गबाट पठाएको हो ।

लिमिटेड हुम्ला शाखाका प्रमुख अधिकारीका अनुसार जिल्लामा खाद्यान्न समस्या देखिएको बेला केरुङ नाका हुँदै तिब्बती मार्गबाट हिल्सादेखि सिमकोटसम्म चार हजार क्विन्टल खाद्यान्न हिल्सा आइपुगेको बताउनुभयो । उक्त  खाद्यान्न अब  सिमकोट ढुवानी गर्ने तयारी भइरहेको छ । उक्त खाद्यान्नमध्ये एक हजार क्विन्टल नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङ बिक्री केन्द्रका लागि र तीन हजार क्विन्टल सिमकोट शाखाको लागि ढुवानी हुनेछ । सो खाद्यान्न अघिल्लो आर्थिक वर्षको खाद्यान्न हो । खाद्यान्न सिमकोट पुगे लगत्तै सर्वसाधारणका लागि बिक्री वितरण गरिनेछ ।

तिब्बती मार्ग भएर ढुवानी भएर आउने खाद्यान्न हवाई मार्गको खाद्यान्नभन्दा ढुवानी दर सस्तो पर्नेछ । उहाँले काठमाडौँ, केरुङ, तिब्बत र हिल्सा हुँदै सिमकोट पुगेको खाद्यान्न प्रति क्विन्टल सात हजार पाँच सय, नाम्खा गाउँपालिकाको याल्वाङसम्म ढुवानी हुने प्रति क्विन्टल खाद्यान्न चार हजार आठ सय रुपियाँ ढुवानी लाग्नेछ । जब कि नेपालगन्जबाट हवाई मार्गबाट ढुवानी हुने खाद्यान्नको हवाई भाडा प्रति क्विन्टल सोह्र हजार लाग्ने गर्छ भने सुर्खेतबाट प्रति क्विन्टल पन्ध्र हजार पाँच सय रुपियाँ लिमिटेडले तिर्दै आएको छ ।