उत्तरतर्फका नयाँ नाका खोल्ने कुरामा नेपाल इच्छुक रहेको प्रधानमन्त्रीको भनाइ
2023-08-30 16:12:23CRI
Share with:

प्रधानमन्त्री पुष्पकमल दाहालले  नयाँ नाका खोल्ने विषय कार्यसूचीमा रहेको बताउनुभएको छ। मंगलबार प्रतिनिधि सभा बैठकमा सांसदहरुसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सांसद उदय शमशेर जबराले सोध्नुभएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले चीन भ्रमणको समयमा दुई देश बीचमा नयाँ नाका खोल्ने विषय कार्यसूचीमा रहेको बताउनुभयो। उहाँले दुई देशबीचका सीमा नाकाहरुको सञ्चालनलाई प्रभावकारी बनाउने विषयमा छलफल हुने बताउनुभएको नेपालखबर अनलाइनले जनाएको छ। 

दुई देशबीच यसअघिका सम्झौता र समझदारीलाई कार्यान्वयनमा जोड दिने बताउँदै उहाँले सडक, ऊर्जा, कृषि, विज्ञान तथा प्रविधि, व्यापार र स्थास्थ्यको क्षेत्रमा रुपान्तरणकारी परियोजनाहरुमा चिनको सहयोगको बिस्तार गर्ने विषय पनि भ्रमणको प्राथमिकतामा रहेको उल्लेख गर्नुभयो। 

‘निकट भविष्यमा हुने मित्रराष्ट्र चीनको भ्रमण दुई देश बीचको ऐतिहासिक सम्बन्धलाई थप उचाइमा पुर्‍याउँदै नेपालको सामाजिक, आर्थिक विकासको लागि चीन–नेपाल सम्बन्धलाई नयाँ गति दिने दिशामा केन्द्रित रहने छ । भ्रमणका क्रममा यस अघि भएका सम्झौता र समझदारीहरुको कार्यान्वयनमा जोड दिइने छ’, उहाँले भन्नुभयो, ‘नेपाल र चीन बीचको आर्थिक तथा व्यापार सम्बन्धलाई थप सघन बनाउने, दुई देश बीचका सीमा नाकाहरुको सञ्चालनलाई प्रभावकारी बनाउने र नयाँ नाकाहरु खोल्ने विषयहरु पनि भ्रमणका क्रममा कार्यसूचीमा छन्। सडक, ऊर्जा, कृषि, विज्ञान तथा प्रविधि, व्यापार तथा विकास सहायता क्षेत्रमा कनेक्टिभिटी, कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रका रुपान्तरणकारी परियोजनामा चीनको सहयोग बिस्तारको विषय समेत प्राथमिकतामा रहने छ।’