राष्ट्रिय गौरवका आयोजनामध्ये १४ वटाको प्रगति ८० प्रतिशत, सातवटाको ५० प्रतिशत आसपास
2023-08-30 16:17:22CRI
Share with:

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय गौरवका आयोजनाहरुको कार्यप्रगति विवरण सार्वजनिक गर्नुभयो। मंगलबार प्रतिनिधि सभा बैठकमा सांसदहरुसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा जवाफ दिँदै प्रधानमन्त्री दाहालले राष्ट्रिय गौरवका आयोजनाहरुको अवस्था बताउनुभएको हो। उहाँले दुईवटा राष्ट्रिय गौरवका आयोजना सम्पन्न भएका भइसकेका, १४ वटाको प्रगति ८० प्रतिशतमाथि रहेको, ५ वटाको प्रगति ५० देखि ८० प्रतिशतसम्म रहेको र दुई वटाको प्रगति ५० प्रतिशत रहेको बताउनुभयो। 

दाहालले हुलाकी राजमार्ग आगामी ३ वर्षभित्र सम्पन्न गर्ने नयाँ लक्ष्य निर्धारण गरिएको बताउनुभयो भने पशुपति क्षेत्र विकास कोष आयोजनाको भौतिक प्रगति ६६ प्रतिशत भइ समष्टिगत वित्तीय प्रगति ६५.७३ रहेको उहाँको भनाइ छ। त्यस्तै लुम्बिनी विकास गुरुयोजनाको हालसम्मको भौतिक प्रगति ८८ प्रतिशत र वित्तीय प्रगति ६०.३४ प्रतिशत रहेको जानकारी दिनुभयो। प्रधानमन्त्री दाहालका अनुसार निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको प्रारम्भिक चरणको कार्यहरु मात्र भइरहेको र लगानी एवम् निर्माणको उपयुक्त मोडालिटी भएपश्चात विमानस्थल निर्माण प्रक्रिया अगाडि बढाइनेछ। यस आयोजनाका लागि चालु आर्थिक वर्षमा ३५ करोड रुपैया विनियोजन भएको उहाँले बताउनुभयो।

मेलम्ची खानेपानी आयोजनामा मनसुन रोकिएको डेढ महिनाभित्र क्षतिग्रस्त संरचनाको मर्मतसम्भार गरी पानी वितरणलाई सुचारु गरिने जानकारी जनाउँदै उहाँले सञ्चालनमा रहेका अन्य राष्ट्रिय गौरवका आयोजनाहरुलाई यथाशिघ्र सम्पन्न गर्न सरकारले जोड दिँदै आएको स्पष्ट पार्नुभयो। नेपालखबर।