ठाउँ-ठाउँमा चार्जिङ स्टेसन राखेसँगै विद्युतीय सवारीमा आकर्षण बढ्दै
2023-08-31 16:10:14CRI
Share with:

नेपाल विद्युत प्राधिकरणले ठाउँठाउँमा चार्जिङ स्टेसन राख्न थालेपछि विद्युतीय गाडी प्रयोग गर्नेलाई सजिलो भएको छ। लुम्बिनी प्रदेशभित्र पूर्व–पश्चिम राजमार्गमा रूपन्देहीको बुटवल, दाङको लमही र बाँकेको कोहलपुरमा चार्जिङ स्टेसन छन्।

यी स्टेसनमा सामान्य अवस्थामा प्रतियुनिट ६ रुपैयाँ शुल्क लाग्छ। बेलुका केही घण्टा प्रतियुनिट ८ रुपैयाँ र राति १२ बजेदेखि बिहान ५ बजेसम्म प्रतियुनिट १२ रुपैयाँ शुल्क लाग्छ। कार घरमा ७ एम्पियर क्षमताले चार्ज गर्दा पूरा चार्ज हुन ७ घन्टा लाग्छ। स्टेसनमा २२ एम्पियरको चार्जरले डेढ घन्टामा र ४४ एम्पियरकोले ४५ मिनेटमा पूरा चार्ज हुन्छ।

तुलसीपुरमा सार्वजनिक यातायातमा विद्युतीय गाडी देखिन थालेका छन्।

तुलसीपुरका व्यवसायी विमल पौडेलले सार्वजनिक यातायातमा दुई वटा विद्युतीय माइक्रो बस चलाउनुभएको छ। उहाँका अनुसार अन्य व्यवसायीसँग समेत गरी हाल तुलसीपुरमा यस्ता गाडी नौवटा छन्। ती सबै गाडी ‘त्रिसिद्धेश्वरी यातायात प्रालि’ अन्तर्गत चलेका छन्।

विद्युतीय गाडी चलाउँदा खनिज इन्धन किन्न विदेश जाने पैसा कटौती हुने र वातावरण संरक्षणमा सहयोग पुग्ने विमलको भनाइ छ।‘विद्युतीय गाडी वातावरणका लागि उपयुक्त छन्। इन्धनको खर्च व्यापक कटौती हुन्छ,’ उहाँ भन्नुहुन्छ, ‘डिजेल–पेट्रोल किन्न विदेशलाई तिर्नुपर्ने पैसा जोगिन्छ। यात्रुको भाडामा पनि सहुलियत हुन्छ।’

अनुभवीहरूका अनुसार सुरूमा विद्युतीय गाडी खरिदमा केही बढी खर्च परे पनि कालान्तरमा सस्तो पर्छ। इन्धनमा पैसा बचत हुने भएपछि खर्च घटेर फाइदा हुन्छ।

सेतोपाटी अनलाइनका अनुसार नेपाल विद्युत प्राधिकरणले दाङको लमहीमा राखेका दुई वटा चार्जिङ स्टेसन गत जेठदेखि चलेका हुन्।