भैरहवा–दिल्ली–हङकङ कनेक्टिङ फलाइट सुरु
2023-08-31 16:02:53CRI
Share with:

नेपाल एयरलाइन्सले मंगलबारदेखि सुरु गरेको भैरहवा–काठमाडौं हुँदै दिल्ली–हङकङको कनेक्टिङ फलाइट सुरू गरेको छ। निगमले आइतबार नै सो सेक्टरमा भैरहवाबाट कनेक्टिङ फलाइट गर्ने सूचना जारी गर्दै स्वचालित अनलाइन प्रणालीमा टिकट खरिद बिक्रीका लागि सोमबार नै राखे पनि अनलाइनमा प्राविधिक समस्या आएपछि पोर्टल नै नखुल्दा टिकट खरिद बिक्री हुन सकेन। 

निगमका अधिकारी प्रकाश अधिकारीले अनलाइनमा प्राविधिक समस्या आएको स्वीकार गर्नुभयो। ‘ट्राभल एजेन्टले पनि अनलाइन प्रणाली नखुल्दा टिकट जारी गर्न सक्नु भएन र अर्को महत्वपूर्ण कुरा के हो भने समय एकदम कम थियो, तिन दिनअघि निर्णय गरी सोमबारमात्रै टिकट अनलाइनमा हालिएको थियो, प्रचार पनि हुन सकेन, अब अर्को हप्ता यो कनेक्टिङ फलाइटमा यात्रु हुनेछन्,’ अधिकारीले दाबी गर्नुभयो। 

यो कनेक्टिङ फलाइटका लागि निगमले मलेशियाबाट भैरहवा हुँदै काठमाडौं जाने बिमानलाई नै कनेक्टिङ फलाइटका रूपमा चलाउने निर्णय गरेको थियो । मलेशियाको क्वालालम्पुरदेखि प्रत्येक मंगलबार भैरहवा उडान हुने गरी जेठ ३० गतेबाट सुरु भएकोमा अहिलेसम्म नियमित रूपमा १२ उडान भएको निगमका भैरहवास्थित कार्यालयका कर्मचारी दिवश खडकाले बताउनुभयो। 

यो सेक्टरमा अर्को हप्ताका लागि भने हवाई भाडादर इकोनोमी क्लासमा एकतर्फी भैरहवा–हङकङको ५३ हजार ५५१ रुपैयाँ र भैरहवा दिल्लीको भाडादर १३ हजार २२७ रुपैयाँ लाग्ने छ। काठमाडौंबाट भन्दा दुई हजार रुपैयाँमात्र बढी रहेको कारोबार अनलाइनले जनाएको छ।