स्पष्ट परराष्ट्र नीतिले आर्थिक क्षमता वृद्धि हुने अर्थमन्त्रीको भनाइ
2023-09-01 16:04:11CRI
Share with:

अर्थमन्त्री डा. प्रकाशशरण महतले राज्यको आर्थिक एवम् सामाजिक नीतिलाई कार्यान्वयन गर्ने क्षमता र परराष्ट्र सम्बन्धलाई सशक्त ढंगले प्रस्तुत गर्ने क्षमता नेपालले विकसित गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ। 

बिहीबार इन्स्टिच्युट फर स्टाटेजी एन्ड सोसियो इकोनोमिक रिसर्चले आयोजना गरेको साना राज्यको क्षमतासम्बन्धी गोष्ठीमा नेपालमा नेभिगेटिङ प्रतिस्पर्धा र परराष्ट्र नीतिका प्राथमिकताबारे सम्बोधन गर्दै मन्त्री डा. महतले यस्तो बताउनुभएको हो। 

‘प्रतिस्पर्धाको बीचमा कसरी हाम्रो प्राथमिकता सेट गर्नुभन्दा अगाडि हामीले हाम्रो क्षमता वृद्धि गर्नुपर्ने आवश्यकता छ’ उहाँले भन्नुभयो। यो क्षमता वृद्धि नभएकाले आर्थिक क्षेत्रमा विश्व समुदायले नेपाललाई ‘स्मल टाइनी’ उपाधि दिइरहेको उहाँले बताउनुभयो।

सानो वा ठूलो देशले आफ्नो देशलाई केन्द्रविन्दूमा राखेर परराष्ट्र नीति सञ्चालन गरेका हुने भन्दै उनले कस्तो खालको परराष्ट्र नीति अवलम्बन गर्दा राष्ट्रहित र राष्ट्रिय स्वार्थको परिपूर्ण हुन्छ, त्यसैका आधारमा परराष्ट्र नीति सञ्चालन हुनुपर्ने उहाँको भनाइ छ ।

चीन, भारत वा अमेरिकासँग हामीले डिल गर्दा नेपालको स्वार्थलाई प्राथमिकतामा राखेर कुरा गर्दा नेपालले आफ्नो कुरा गरिरहेको ती मुलुकले बुझ्ने उहाँले बताउनुभयो।

आर्थिकरुपमा स्थापित हुन राजनीतिक स्थायित्व चाहिने भन्दै उहाँले यसमा समस्या रहेको बतउनुभयो। नेपालको निर्वाचन प्रणालीमा सुधार आवश्यक रहेको भन्दै उहाँले समानुपातिक व्यवस्थालाई कायमै राखेर निर्वाचन प्रणाली सुधार गर्ने ठाउँ रहेको समेत बताउनुभयो।