नेपाल-चीन मितेरी पुल वरपरका बजार झकिझकाउ, नाका खुलेकोमा खुसीयाली
2023-09-02 16:06:23CRI
Share with:

चीनको खासाबाट आठ वर्षपछि लिपिङ आइपुग्दा तिब्बती वेशभूषामा सजिएका एक सय २० स्थानीय (खासावासी) झकिझकाउ देखिन्थे । उता मितेरी पुलपारि पुगेका दुई सयभन्दा बढी नेपाली चिनियाँ आतिथ्यपछि मितेरी पुलछेउका केही बजारमा व्यापारिक किनमेलमा व्यस्त रहे।नेपाल–चीनको मितेरी पुलयताका बजार धेरै झकिझकाउ थिए, त्यहाँ पास लिएर आइपुगेका खासावासीलाई चिनियाँले नेपालीलाई गरेझैं नेपालीले सम्मान गर्दै स्वागत गरे । आठ वर्षपछि नाका खुलेको खुसीमा दुवैतर्फ ठेलमठेल र पास लिनेहरूको लर्को देखियो।

०७२ वैशाख १२ को भूकम्पपछि शुक्रबार सर्वसाधारणका लागि तातोपानी नाका खुला गरिएको हो । भोटेकोशी गाउँपालिका–२ बाट चीन जोड्ने तातोपानी नाका भएर शुक्रबार दुई सय स्थानीय चिनियाँ क्षेत्र प्रवेश गरेको कोदारीस्थित अध्यागमन कार्यालयका प्रमुख रवीन्द्र पोखरेलले जनाउनुभयो।

सुरुमा सिन्धुपाल्चोक–१ का प्रतिनिधिसभा सदस्य माधव सापकोटासहित ३० जनालाई पारि पठाएर आउजाउको उदघाट्न गरियो । चिनियाँ क्षेत्र प्रवेशका लागि नीलो रङको पास जारी गरेकामा दुई सय २७ ले सुरुवाती चरणमा पास लिन पाएको र पास लिन आउनेको चाप बढ्दो रहेको उहाँले बताउनुभयो।  ‘सिन्धुपाल्चोकवासी मितेरी पुलपारिका क्षेत्रमा गएका छन्, उनीहरू आठ वर्षपछि चिनियाँ सामान किनेर फर्किए,’ पोखरेलले भन्नुभयो ।

आयातनिर्यात सहज पार्न आडो ट्रान्सपोर्ट कम्पनीले चिनियाँ सहरबाट तातोपानीसम्म एक सीबीएमको चार सय ५० घोर्मु लिएर सामान ढुवानी गर्ने घोषणा गरेको छ । यसले व्यवसायी झनै उत्साहित भएका छन् । यसअघि अरू ट्रान्सपोर्ट कम्पनीले ६ सय घोर्मु लिएर खासासम्म मात्रै ढुवानी गर्दै आएका थिए । खासा व्यापारमा मात्रै निर्भर सीमाका बासिन्दालाई हाल चिनियाँ क्षेत्र लिपिङ पारि १५ अनि रमिते र खासामा ५ वटा पसल सञ्चालन गरिएको छ ।

आठ वर्षपछि पास प्रक्रिया पूरा गरेर जिल्लाका बासिन्दाले आवश्यक लत्ताकपडा र घरायसी सामग्रीलगायत खरिद गर्दै चिनियाँ बजार घुम्न पाउँदा पर्वझैं मनाए । खासावासीहरूले पनि लिपिङ पुगेर नेपाली आफन्तसँग भेटघाट गरे । भूकम्पले बन्द भएपछि ०७६ जेठ १५ मा आयातका लागि एकतर्फी खुलेको यो नाकाबाट गत वैशाख १८ मा निर्यात खुलेको थियो । नेपाली र चिनियाँ अधिकारीबीच नाका सञ्चालनका लागि ल्हासा, काठमाडौं र लिपिङमा पटकपटक छलफल भएपछि बल्ल मानिसको आउजाउ खुलेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताउनुभयो। 

खासाबाट खरिद गरेर ल्याएका सामग्रीको भन्सार पासका लागि पुरानै भन्सारमा छोटी भन्सार राखेर सुरु गर्ने तातोपानी सुक्खा बन्दरगाहका प्रमुख भन्सार अधिकृत दयानन्द केसीले बताउनुभयो। भूकम्प र बाढीपहिरोले सीमा जोड्ने सडक कोदारी राजमार्ग जीर्ण छ । कोरोना महामारीले तीन वर्ष आयात अनियमित बनेको नाका ताल फुट्ने जोखिमले प्रभावित बन्यो ।

‘बल्ल सर्वसाधारणका लागि नाका खुलेको छ, स्थानीय र व्यवसायी धेरै हर्षित छन्, यसले व्यापारिक रूपमा जिल्लालाई बलियो बनाएको महसुस गरेका छौं,’ सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार बस्नेतले भन्नुभयो। भूकम्पअघि नेपाली व्यापारीले चीनको खासा क्षेत्रका कम्पनी र अन्य बजार गएर दुई सय कन्टेनरसम्ममा सामग्री ल्याउन पाउँथे । अब खासामा आवश्यक भौतिक र व्यापारिक व्यवस्थापन सकिएपछि सर्वसाधारणले क्रमशः त्यही सुविधा पाउने उहाँले प्रस्ट्याउनुभयो।

नाका खोल्न अत्याधुनिक मितेरी पुल र तातोपानी सुक्खा बन्दरगाहको भवन यसअघिदेखि चिनियाँ कम्पनीले बनाइदिएका थिए । यीबाहेक अध्यागमन भवन, लिपिङ भन्सार यार्ड, सुरक्षा गेट भूकम्प र भोटेकोशी बाढीले जीर्ण बनाएको भवनमा चलाइएको छ । उता चीन पक्षका अधिकारीले निकासी वस्तुको जाँच गर्न खासाको रमितेमा निकासी घर, भवन, अन्य पूर्वाधार संरचना अन्तिम चरणमा पुर्‍याइसकेका छन् । अन्य संरचना पनि बनाएका छन् । कान्तिपुर अनलाइनका अनुसार भूकम्पअघि तातोपानीको बाटो प्रयोग गरेर वार्षिक ५० हजारभन्दा बढी विदेशी पर्यटक आउजाउ गर्थे । यसमध्ये ४० हजारभन्दा बढी पर्यटक चीनका हुन्थे । तातोपानी नाका बन्द भएपछि यो बाटो भएर भारतलगायत अन्य मुलुकका तीर्थयात्रीले चीनको स्वशासित क्षेत्र तिब्बतको कैलाश मानसरोवर भ्रमण गर्न पाएका छैनन्।

भूकम्प र भोटेकोसी बाढीपछि बर्सेनि ठूलो संख्यामा तातोपानी धारा नुवाउन आउने आन्तरिक पर्यटकको संख्याको भारी गिरावट छ । सरोकारवाला सबैले तातोपानीबाट तिब्बतको कैलाश मानसरोवर जान पनि नेपाल सरकारमार्फत चीन सरकारसँग कूटनीतिक संवाद जारी राखेका छन् ।