दस लाख पर्यटक नाघ्ने अपेक्षा
2023-09-03 15:35:09CRI
Share with:

सन् २०२३ को आठ महिनामा छ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्क अनुसार २०२३ जनवरीदेखि अगस्टसम्म छ लाख एक हजार ३६० पर्यटक भित्रिएका छन् । अगस्टमा मात्रै ६७ हजार १५३ पर्यटकले नेपाल भ्रमण गरेका छन् । 

अगस्टमा नेपाल भित्रिएका पर्यटकको सङ्ख्या सन् २०२२ को अगस्टको तुलनामा ३४ हजार ८४९ ले बढी हो । सन् २०२२ को अगस्टमा ४१ हजार ३०४ पर्यटक नेपाल भित्रिएका थिए । सन् २०१९ मा ७३ हजार ८१४ पर्यटक नेपाल भित्रिएको बोर्डले जनाएको छ । बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार पछिल्लो आठ महिनाको पर्यटक आगमन दर हेर्दा सन् २०२३ मा १० लाख पर्यटक भित्रिने अपेक्षा गरिएको छ । 

उहाँले भन्नुभयो, “पछिल्ला प्रत्येक महिनामा निरन्तर पर्यटक आगमन वृद्धि भइरहेको छ । सम्भावित स्रोत बजारबाट निरन्तर आगमन बढिरहेकाले सन् २०२३ मा १० लाख पर्यटक पु-याउने लक्ष्य पूरा हुने विश्वास गरिएको छ ।” पछिल्लो दुई महिनामा चिनियाँ पर्यटकको सङ्ख्यासमेत बढ्दै गएकाले आगामी सिजनमा चीनबाट थप पर्यटक भित्रिने अपेक्षा रहेको उहाँले बताउनुभयो । चिनियाँ बजारमा गरिएको प्रचार प्रसारले पर्यटक आगमनमा सुधार देखिएकाले भारत र चीनमा थप पर्यटन प्रवर्धनका कार्यव्रmम अघि बढाइने उहाँको भनाइ छ । यस वर्षको अगस्टसम्मको आँकडा हेर्दा सन् २०२२ को १२ महिनामा नेपाल भित्रिएका पर्यटकको सङ्ख्याको हाराहारीमा पुग्न लागेको उहाँको धारणा छ । सन् २०२२ भर छ लाख १४ हजार १४८ पर्यटक नेपाल भित्रिएका गोरखापत्र अनलाइनले खबर लेखेको छ । 

यो वर्षको अगस्टमा सबैभन्दा बढी भारतबाट २६ हजार ६६५, चीनबाट पाँच हजार २७, अमेरिकाबाट चार हजार ६२९, श्रीलङ्काबाट तीन हजार ५५८ र बङ्गलादेशबाट तीन हजार १९० पर्यटक नेपाल भित्रिएका छन् । यस्तै बेलायतबाट दुई हजार ७११, स्पेनबाट एक हजार ५८८, जापानबाट एक हजार ५२०, इटालीबाट एक हजार ४९६ र अस्ट्रेलियाबाट एक हजार ३४७ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

बोर्डका अनुसार सन् २०२२ को जनवरीमा ५५ हजार ७४, फेब्रुअरीमा ७३ हजार २५५, मार्चमा ९९ हजार ४२६ र अप्रिलमा ९८ हजार ७७३ जना पर्यटक नेपाल भित्रिएका छन् । त्यस्तै मेमा ७७ हजार ७०३, जुनमा ७२ हजार २५०, जुलाईमा ५७ हजार ७२६ र ६७ हजार १५३ पर्यटक नेपाल आएका छन् । सरकारले सन् २०२३ मा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्या १० लाख पु-याउने लक्ष्य लिएको छ ।