काठमाण्डौंमा चीनको 'सुनौलो घण्टी साँस्कृतिक समूह'को भव्य सांगीतिक प्रस्तुति
2023-09-03 15:33:03CRI
Share with:

चीनको 'सुनौलो घण्टी साँस्कृतिक समुह' का ख्याती प्राप्त कलाकारहरुले काठमाडौंमा भव्य सांगितिक प्रस्तुती गरेका छन्। उपराष्ट्रति रामसहाय प्रसाद यादवको प्रमुख आतिथ्यतामा अगस्त ३१ तारिख बिहीबार काठमाण्डौंको भद्रकालीस्थित नेपाल आर्मी अफिसर्स क्लबमा उनीहरुले चिनियाँ स्वाद र शैलीका विभिन्न सांगितिक प्रस्तुतीहरु गरेका हुन्। 

नेपालस्थित चिनियाँ राजदूतावासको प्रायोजन र सुचौ चाईनिज अरकेष्ट्राको आयोजनामा सम्पन्न सो सांगितिक कार्यक्रममा सुन्दर फूल र पूर्णचन्द्र नामक धुन तथा रेशम मार्ग नामक धुन, नेपाली रेशम फिरिरी गीतको धुन, सियानङ नदीमा बसन्त नामक एकल बाँसुरी धुन, कु चङ चिनियाँ सितार बादन, खुन चिनियाँ अपेरा, फीफा धुन, चिनियाँ सहनाइ धुन जस्ता प्रस्तुती मार्फत दर्शकलाई मनोरञ्जन प्रदान गरिएको थियो। 

नेपालस्थित चिनियाँ सांस्कृतिक केन्द्र, चाईनिज आर्ट एण्ड इन्टरटेमेन्ट ग्रुप, वल्र्ड कल्चर-नेट र नेपाल चीन साँस्कृतिक तथा शैक्षिक परिषद्को सहआयोजनामा सम्पन्न सो साँगितिक समारोहमा मेरो मातृभूमि र युवा नृत्य नामक एकल गायन, चीनको सिनच्याङ प्रान्तमा लोकप्रिय युवा नृत्य नामक गीत समेत प्रस्तुत गरिएको थियो।

समारोहमा झण्डै १५ सय वर्ष पहिलेदेखि हाल प्रयोगमा आएका पछिल्ला साँगितिक बाजाहरुमार्फत विविध प्रस्तुती गरिएको थियो।

सो साँगितिक समारोहलाई सम्बोधन गर्दै नेपालका लागि चिनियाँ राजदूत छन सोङले  हिमाल र नदीहरुले जोडिएका नेपाल र चीन प्राचीनकालदेखिका असल मित्र भएको बताउनुभयो। राजदूत छन सोङले सभ्यताको सुरुवातदेखि नै यी दुई देशबीचको सम्बन्ध गहिरो र सहयोगात्क रहँदै आएको बताउँदै चीनको ‘सुनौलो घण्टी साँस्कृतिक समूह’ का ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुतीले नेपाली जनतालाई चीनको साँगितिक क्षेत्रका बारेमा बुझ्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

चियाङ याङ, सुन स्रली, रेन चिए, तु लिनयाङ, छन् च्युन, कोङ सुआङ, मियाओ सरयुन, वाङ सियाओ, ल्यु थिङथिङ, फान छाओ लगायतका कलाकारहरुको बेजोड प्रस्तुतीले दर्शक तथा कार्यक्रममा सहभागी उच्चपदस्थ पहुनाहरू उत्साहित भएका थिए।