भुटानको ड्रुक एयरले पोखरामा उडान गर्ने
2023-09-04 16:39:50cri
Share with:

 

भुटानको ड्रुक एयरले पोखरामा चार्टर उडान गर्ने भएको छ। ड्रुक एयरले भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भदौ २३ गते उडान गर्न लागेको गोरखापत्र अनलाइनले लेखेको छ। 

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार करिब एक घण्टाको उडान गर्दै पोखरा आएपछि उक्त जहाज पोखराबाटै भुटान फर्किने छ। 

उहाँले भन्नुभयो, “ड्रुकले भदौ २३ गते पोखरामा चार्टर उडान गर्न साउन २५ गते प्राधिकरणसँग अनुमति मागेको थियो। ड्रुक एयरले चार्टर उडानपछि नियमित उडान गर्नेबारे समेत चासो देखाएको छ। प्रक्रियामा भने आइसकेको छैन।” ड्रुक एयरले चार्टर उडानमार्फत १५० को हाराहारीमा यात्रु पोखरा ल्याउने र फर्किंदा रित्तै फर्किने उहाँले बताउनुभयो। ड्रुकले चार्टर उडान सफल भएपछि भारतको नयाँ दिल्ली सेक्टरलाई समेत जोडेर उडानको तयारी गरिरहेको छ। 

हाल भुटानबाट त्रिभवन अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रुक एयरले सातामा तीन र भुटान एयलाइन्सले सातामा चार वटा उडान गर्दै आएको छ।

भुटानसँगको हवाई सम्झौता अनुसार नेपालको विमानस्थलमा भुटानका एयरलाइन्सले फिफ्ट फ्रिडम फ्लाइटको सुविधा पाएका छन्। यस्तो सुविधामा भुटानका एयरलाइन्सले हप्तामा सात वटासम्म उडान गर्न पाउने छन्। ड्रुक एयरले मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा समेत उडान गर्न चासो देखाइरहेको छ। भैरहवामा उडानको तयारी अनुसार ड्रुक एयरका प्रतिनिधिको टोलीले हालै गौतम बुद्व विमानस्थलको सेवा, सुविधालगायतबारे स्थलगत निरीक्षण गरेर फर्किएको छ।

गत वर्ष पुस १७ गतेदेखि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अहिलेसम्म नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुन सकेको छैन। विभिन्न मुलुकका हवाई कम्पनीले पोखरामा उडानका लागि चासो देखाए पनि उडान अनुमतिको प्रव्रिmयामा भने आएका छैनन्। यसअघि गत असार ७ असारमा चीनको छेन्दु विमानस्थलबाट सिचुवान एयरलाइन्सको न्यारोबडी एयरबस ३१९ जहाजले पोखरामा चार्टर उडान गरेको थियो। यो विमानस्थल हाल आन्तरिक उडानमा निर्भर रहेको छ।