नेपालमा यस वर्ष रोपाइँ र क्षेत्रफल गत वर्षभन्दा न्युन
2023-09-04 16:42:26cri
Share with:

 

सिँचाइ अभावले नेपालमा यस वर्ष क्षेत्रफलसँगै रोपाइँ पनि कम भएको छ । गत वर्ष साउन २८ मा ९५ प्रतिशत रोपाइँ भएकामा यस पटक रोपाइँ धेरै ढिला गरी सकियो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रकाशन गरेको प्रदेशस्तरमा रोपाइँको सारांशअनुसार यस वर्ष भदौ ११ सम्म रोपाइँ भएको कान्तिपुर अनलाइनले लेखेको छ। तर, रोपाइँ भएको क्षेत्रफल सन्तोषजनक छैन । यस वर्ष ९५ प्रतिशतमा रोपाइँ भए पनि गत वर्षको तुलनामा यसको क्षेत्रफल घटेको छ ।

‘यस वर्षको रोपाइँ हेर्दा उत्पादकत्वमा समस्या हुने देखियो । एक त ढिलो गरी रोपाइँ भएको छ, यसले उत्पादकत्वमा प्रत्यक्ष असर पार्छ,’ मन्त्रालयका एक अधिकारीले भने, ‘त्यसमा पनि रोपाइँ हुने क्षेत्रफल घटेको छ ।’ मन्त्रालयका अनुसार गत वर्षको तुलनामा रोपाइँ हुने क्षेत्रफल १६ हजार ९ सय ४०.९ हेक्टरले घटेको छ । गत वर्ष १५ लाख ४ हजार ९ सय ९० हेक्टरमा रोपाइँ भएको उल्लेख थियो । तर, यस वर्ष रोपाइँ हुने क्षेत्रफल घटेर १४ लाख ८८ हजार ४९.१ हेक्टर मात्रै रहेको मन्त्रालयको तथ्यांक छ । यस वर्ष भदौ ११ सम्म १४ लाख ७ हजार ७ सय ९१ हेक्टरमा मात्रै रोपाइँ भएको छ । अर्थात् २० हजार १ सय १० हेक्टरमा रोपाइँ हुन सकेन ।

गत वर्ष १५ लाख ४ हजार ९ सय ९० हेक्टरमा रोपाइँ हुने बताइएको थियो । साउन २८ सम्म १४ लाख २७ हजार ९ सय २ हेक्टरमा रोपाइँ भएको थियो । ‘प्रतिशतका हिसाबले पोहोरकै बराबर रोपाइँ भए पनि क्षेत्रफल घटेको छ,’ ती अधिकारीले भने, ‘ढिलो गरी रोपाइँ त भयो, अब मल, सिँचाइ समयमै उपलब्ध नहुँदा उत्पादन स्वतः घट्छ ।’

मन्त्रालयका अनुसार सबैभन्दा धेरै धान फल्ने मधेशमै रोपाइँ कम भएको छ । यहाँ ४ लाख १ हजार ६ सय ५० हेक्टरमा रोपाइँ हुने गर्छ । त्यसमा ३ लाख ५८ हजार २ सय ९०.७ हेक्टर अर्थात् ८९ प्रतिशत मात्र रोपाइँ भएको छ । गत वर्ष मधेशमा ३ लाख ७८ हजार ३ सय ५६ हेक्टरमा रोपाइँ भएको थियो । मधेशमा रोपाइँ हुने क्षेत्रफल पनि २० हजार हेक्टरले घटेको छ । यसरी धान उत्पादन हुने क्षेत्रमै रोपाइँ हुने क्षेत्रफल घट्नु र कम रोपाइँ हुनु राम्रो संकेत नभएको जानकारहरू बताउँछन् ।

मधेशमा कम पानी पर्दा रोपाइँ कम भएको कृषि विभागका महानिर्देशक हरिबहादुर केसीले जनाउनुभयो । ढिलो गरी रोपाइँ भएको बालीमा पनि मल, सिँचाइको व्यवस्थापन राम्रो भए उत्पादन बढ्न सक्ने उहाँको भनाइ छ । ‘गत वर्ष लुम्बिनीमा कम रोपाइँ भएको थियो, यस वर्ष मधेशमा कम भयो,’ उहाँले भन्नुभयो, ‘प्रतिशतका हिसाबले पोहोरकै बराबर भएको छ । उत्पादकत्वको कुरा गर्दा जति ढिला रोपाइँ हुन्छ, त्यति नै उत्पादन घट्ने हो । तर मल सिँचाइ समयमै व्यवस्थापन गर्न सके उत्पादन बढाउन सकिन्छ ।’

लुम्बिनीमा ९५ प्रतिशत रोपाइँ भएको छ । यहाँ ३ लाख ११ हजार ४२ हेक्टरमा रोपाइँ हुन्छ । यसमध्ये २ लाख ९५ हजार ४ सय ७ हेक्टरमा रोपाइँ भएको मन्त्रालयको तथ्यांक छ । मधेशमा रोपाइँ घट्दा समग्र रोपाइँको प्रतिशतमा प्रभाव पारेको छ । अन्य प्रदेशको हकमा रोपाइँ प्रतिशत सन्तोषजनक नै छ । सुदूरपश्चिममा शतप्रतिशत नै रोपाइँ भएको छ । सुदूरपश्चिममा १ लाख ७७ हजार ७ सय ६७ हेक्टरमा रोपाइँ हुने गरेकामा यस वर्ष १ लाख ७७ हजार २ सय २९ हेक्टरमा रोपाइँ भएको छ । कर्णालीमा ९९ प्रतिशत रोपाइँ भएको छ । भदौ ११ सम्म ४४ हजार ७ सय १४ हेक्टरमा रोपाइँ भएको मन्त्रालयको तथ्यांक छ ।