पोखरा पर्यटनको ट्रान्जिट बन्नुपर्ने नेपालका अर्थमन्त्रीको भनाइ
2023-09-05 16:27:55cri
Share with:

 

नेपालका अर्थमन्त्री डा प्रकाशशरण महतले देशको अर्थतन्त्र सकारात्मक बाटोमा उन्मुख बनेको बताउनु भएको छ। पोखरा पर्यटन परिषद्को वार्षिक साधारणसभाको सोमबार पोखरामा उद्घाटन गर्दै उहाँले भूकम्प, कोभिडलगायत विभिन्न कारणले मुलुक अप्ठ्यारोबाट गुज्रिए पनि निराश बन्नुपर्ने अवस्था नरहेको बताउनु भएको नेपाल समाज अनलाइनले लेखेको छ।

नकारात्मक कुराले केबल आत्मविश्वास घटाउने भन्दै गर्दै उहाँले अलिकति समस्या आयो भन्दैमा निराश हुनु नहुनेमा जोड दिनुभयो। राजस्व सङ्कलनको अवस्था गत आर्थिक वर्षको तुलनामा राम्रो भएको बताउँदै उहाँले राम्रा दिन आउनेतर्फ सकारात्मक छलफल सुरु गर्नुपर्नेमा जोड दिनुभयो।

आर्थिक क्षेत्रमा देखिएका समस्याको समाधानका लागि सरकार निरन्तर क्रियाशील रहेको भन्दै अर्थमन्त्री डा महतले पुँजीगत खर्चलाई प्रभावकारी ढङ्गले बढाउने बताउनुभयो। पर्यटनलाई समृद्धिको महत्वपूर्ण आधारका रुपमा लिइएको बताउँदै उहाँले पोखरा पर्यटनको ट्रान्जिट बन्नुपर्ने उल्लेख गर्दै ट्रान्जिट धेरै भए पर्यटकीय गतिविधि बढ्ने बताउनुभयो।

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनका सम्बन्धमा प्रदेश र सङ्घीय सरकारले ध्यान दिएको बताउनुभयो। पछिल्ला समयमा छोटिएका पदमार्गलाई कसरी विस्तार गर्ने सम्बन्धमा छलफल आवश्यक भएको भन्दै उहाँले उत्पादन र रोजगारी वृद्धिलाई जोड दिनुपर्ने बताउनुभयो।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पाँच सय रुपैयाँ दरका भारतीय नोट नचल्दा भारतीय पर्यटक समस्यामा परिरहेको र त्यसले उनीहरूको आगमन प्रभावित भएको बताउनुभयो। पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन नसकेको अवस्थामा चाँडो यसतर्फ ध्यान जानुपर्ने उल्लेख गर्दै उहाँले निर्माणाधीन पोखरा–मुग्लिन सडकको ढिलाइका कारण पोखराको पर्यटनमा प्रत्यक्ष असर पारिरहेको बताउनुभयो।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य देवका पहारी, परिषद्का निवर्तमान अध्यक्ष गोपीबहादुर भट्टराई, महासचिव सञ्जयकान्त सिग्देल, कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे लगायतले बोल्नु भएको थियो। कार्यक्रममा  परिषद्का गतिविधिमा विभिन्न तवरबाट सहयोग गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो।