नेपाल विद्युत प्राधिकरणद्वारा नेपालमा ५१ वटा चार्जिङ स्टेशन निर्माण
2023-09-06 16:19:41cri
Share with:

 

नेपाल विद्युत प्राधिकरणले बनाएको देशभरका ५१ वटा चार्जिङ स्टेसन उद्घाटन भएको छ। सेप्टेम्बर ६ तारिख बुधबार नेपाल पुलिस क्लबमा बनेको चार्जिङ स्टेसन उद्घाटन गर्दै एकसाथ देशभरका चार्जिङ स्टेशन उद्घाटन भएको रातोपाटी अनलाइनले लेखेको छ। 
पुलिस क्लबमा बनेको चार्जिङ स्टेसन ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री शक्तिबहादुर बस्नेतले उद्घाटन गर्नुभयो। योसँगै देशको चार्जिङ स्टेसन एकसाथ उद्घाटन भएको प्राधिकरणले जनाएको छ। प्राधिकरणले करिब ३ वर्षअघि देशभर एकसाथ ५१ वटा चार्जिङ स्टेसन निर्माण गर्ने उद्घोष गरेको थियो।

कोभिड महामारी र रुस–युक्रेन युद्धकाकारण विश्वभर कच्चा पेट्रोलियम पदार्थको मूल्य बढेको छ। साथै ‘ग्लोबल वार्मिङ’का कारण आइरहेको प्राकृतिक परिवर्तन रोक्न समेत विश्वभरका देश विद्युतीय सवारीको प्रयोग बढाउनुपर्ने दबाबमा छन्। यो दबाब नेपाललाई समेत पर्छ।
स्वदेशमै उत्पादित बिजुली खपत बढाउनुपर्ने र ‘क्लाइमेट चेञ्ज’ तीव्र गति रोक्न समेत विद्युतीय सवारीमा लगानी बढाउनुपर्ने स्थिति छ। सोहीकारण, प्राधिकरणले समेत चार्जिङ स्टेसन बनाएको हो। यस्तै, निजी क्षेत्रले समेत चार्जिङ स्टेसन बनाइरहेको छ।

आफैंले चार्जिङ स्टेशन बनाउन जग्गा खरिद लगायतको झन्झट आएपछि यतिबेला प्राधिकरणले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति लिएको छ। चार्जिङ स्टेशन बनाउन चाहने निजी क्षेत्रलाई बिजुलीको प्रबन्ध प्राधिकरणले नै गर्छ। प्राधिकरणका अनुसार हाल देशभरका २३० हाराहारी स्थानमा चार्जिङ स्टेशन बनिसकेका छन्।