तिप्ल्याङ कालीगण्डकी जलविद्युतको पिपिए सम्पन्न
2023-09-06 16:23:40cri
Share with:

 

आइएमई समूहको प्रवर्धनमा बन्ने तिप्ल्याङ कालीगण्डकी जलविद्युत् आयोजनाको विद्युत् खरिदबिक्री सम्झौता सम्पन्न भएको छ। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र तिप्ल्याङ कालीगण्डकी हाइड्रोपावर प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल विद्युत् प्राधिकरणमा आयोजित एक कार्यक्रमका बीच उक्त खरिदबिक्री सम्झौतामा हस्ताक्षर गर्नुभएको गोरखापत्र अनलाइनले लेखेको छ।

अहिले ५८ मेगावाट क्षमताको विद्युत् खरिदबिक्री सम्झौता भएको कम्पनीले जनाएको छ। 

प्रवर्धक कम्पनीका अनुसार आयोजनाको क्षमता वृद्धि गरी ८६ मेगावाट कायम गर्न विद्युत् विकास विभागबाट सैद्धान्तिक सहमति प्राप्त गरिसकेकाले बाँकी क्षमताको पनि छिट्टै खरिदबिक्री सम्झौता गरिने उल्लेख छ।

यो आयोजना म्याग्दी जिल्लाको अन्नपूर्ण तथा रघुगङ्गा गाउँपालिकामा पर्दछ। आयोजनाबाट उत्पादन हुने विद्युत् कालीगण्डकी कोरिडोर अन्तर्गत दाना सबस्टेसनमा जोडिने छ।

आइएमई समूहकै ६६.३ मेगावाट क्षमताको माथिल्लो मध्यकालीगण्डकी जलविद्युत् आयोजनाको विद्युत् खरिदबिक्री सम्झौता यसअघि नै सम्पन्न भइसकेको छ । 

दुवै आयोजना २०८६ साल असार महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य तय गरिएको छ। आयोजनाको कुल लागत ३३ अर्ब १४ करोड रुपियाँ रहेको जनाइएको छ। आयोजनामा स्वपुँजी लगानी आइएमई समूहलगायतबाट हुने छ भने वित्तीय व्यवस्थाका लागि नबिल बैङ्क लिमिटेडको अगुवाइमा प्रक्रीयामा रहेको कम्पनीले जनाएको छ।