ललितपुरमा महिला उद्यमी मेला
2023-09-07 16:28:37cri
Share with:

 

ललितपुरको याक प्यालेसमा महिला उद्यमी मेला–२०८० शुरु भएको छ। कोभिड महामारी र विश्वव्यापी आर्थिक मन्दीका कारण साना तथा मझौला व्यवसायीका उत्पादनले बजार पाउन नसकिरहेका बेला साना तथा मझौला व्यवसायी महासंघ नेपालले मेला आयोजना गरेको नेपाल प्रेस अनलाइनले लेखेको छ।

सेप्टेम्बर ६ तारिख बुधवारदेखि सेप्टेम्बर १० तारिख आइतवारसम्म चल्ने मेलामा महिला उद्यमीद्वारा उत्पादित सामग्रीलाई प्राथमिकता दिइएको छ। महासंघ अन्तर्गत केन्द्रिय महिला समितिकी सहसचिव अनिता ठकुरीले पछिल्लो समय उद्योग व्यवसायमा आएको सुस्ततालाई चलायमान बनाउने उद्देश्यले प्रदर्शनीको आयोजना गरिएको बताउनुभयो।

मेलामा नेपालको पूर्वदेखि पश्चिमसम्मका साना तथा मझौला व्यवसायीद्वारा उत्पादित सबै किसिममा सामग्री राखिएको उहाँले जानकारी दिनुभयो। ८० वटा स्टल रहेको मेलामा महिला उद्यमीहरुले उत्पादन गरेका हस्तनिर्मित सामान, ढाकाका कपडा, अल्लोका कपडा, बाँसका सामग्री, चाँदीका गरगहना, चियापत्ति, लगायत सामग्रीहरु छन्। निःशुल्क प्रवेशको व्यवस्था गरिएको महिला उद्यमी मेलालाई १० हजारले अवलोकन गर्ने र ५० लाख बढीको कारोबार हुने अपेक्षा महासंघले गरेको छ।

उहाँले भन्नुभयो,‘पछिल्लो समय उद्योग व्यवसायमा आएको सुस्ततालाई चलायमान बनाउने उद्देश्यले प्रदर्शनीको आयोजना गरिएको हो। व्यापार व्यवसायलाई चलायमान बनाउनको लागि नेपालको पूर्वदेखि पश्चिमसम्मका उद्यमीहरुले उत्पादन गरेका सामग्रीहरु प्रदर्शनीमा राखिएको छ। तिज विशेष पनि भएकाले सम्पूर्ण दिदिबहिनीहरु मेला अवलोकन गर्न अनुरोध छ।’

महिला उद्यमी मेलाको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्घाटन गर्नु भएको थियो। सो क्रममा उहाँले सबै स्टलको अवलोकन गरी विभिन्न किसिमका स्वदेशी उत्पादनको बारेमा जानकारी लिनु भएको थियो। मेला उद्घाटन कार्यक्रममा बोल्दै महासंघकी सह अध्यक्ष इनु पौडेलले महिलाहरु आर्थिक रुपमा सक्षम नभएसम्म मुलुकको सम्मुन्नत आर्थिक विकास हुन नसक्ने भन्दै सबै महिलालाई सफल उद्यमी बनाउनुपर्नेमा जोड दिनुभयो।