यस वर्ष ६१ जनालाई मनास्लु आरोहण अनुमति प्रदान
2023-09-07 16:30:11cri
Share with:

 

यस वर्षको शरद ऋतुमा ६ समूहका ६१ जनाले मनास्लु हिमाल आरोहणको अनुमति लिएका छन् । पर्यटन विभागको तथ्यांकअनुसार १ सेप्टेम्बरसम्म ८ हजार १ सय ६३ मिटर उचाइको मनास्लु र ६ हजार ५ सय ९३ मिटर उचाइको रक्सा उराइ हिमाल आरोहणका लागि ६५ जनाले अनुमति लिएका कान्तिपुर अनलाइनले लेखेको छ ।

रक्सा उराईका लागि एक समूहका तीन पुरुष र एक महिला गरी चार जनाले आरोहण अनुमति लिएका छन् । मनास्लु हिमालका लागि ५४ पुरुष र ७ महिलाले आरोहणको अनुमति पाएका छन् । चीन, क्यानडा, जापान, रसियालगायत देशबाट आरोहीहरूले मनास्लु र रक्सा उराई हिमाल आरोहणको अनुमति लिएका हुन् । १९५६ को जुलाई ९ मा जापानी नागरिक टोसी इमानोसीले पहिलोपल्ट मनास्लु हिमालको आरोहण गरेयता विदेशी आरोहीहरू मनास्लु पुग्ने गरेका छन् । भदौ र असोज महिनालाई चुमनुव्री गाउँपालिका–१ सागामाउँमा रहेको मनास्लु हिमाल आरोहणको उपयुक्त सिजन मानिन्छ । मनास्लु ‘किलर माउन्टेन’ का रूपमा पनि परिचित छ ।

त्यस्तै मनास्लु क्षेत्र भ्रमण गर्ने विदेशीको संख्या पनि बर्सेनि बढ्दै गएको छ । भदौ महिनाको १९ दिनमा मात्र दुई सय ३६ जना विदेशीले मनास्लु भ्रमणका लागि अनुमति लिइसकेका छन् । अफ सिजनमा समेत मनास्लु घुम्न विदेशी पर्यटक आउने गरेको एमक्यापको तथ्यांकमा उल्लेख छ । बर्खाको असार र साउन महिना मनास्लु घुम्नका लागि अफसिजन मानिन्छ । गत असार महिनामा १३ जना र साउन महिनामा ८० जना विदेशीले मनास्लु क्षेत्रको भ्रमण गरेका छन् । साहसिक पदयात्रा गर्ने र प्रकृतिप्रेमी पर्यटकको रोजाइमा मनास्लु क्षेत्र पर्ने गरेको छ ।

विदेशी पर्यटकका लागि मनास्लु क्षेत्र खुल्ला गरेयता गत आर्थिक वर्ष सबैभन्दा वढी पर्यटक आएको मनास्लु संरक्षण क्षेत्र (एमक्याप) को तथ्यांकमा उल्लेख छ । गत आर्थिक वर्ष २०७९/८० मा मात्र ७ हजार ७ सय ५ जनाले मनास्लु क्षेत्रको भ्रमण गरेको एमक्यापका प्रमुख सन्तोष शेरचनले बताउनुभयो । ‘यो संख्या अहिलेसम्मकै धेरै हो,’ उहाँले भन्नुभयो । १९९५ मा पहिलो पटक मनास्लु क्षेत्र विदेशी पर्यटकका लागि खुल्ला गरेको वर्ष तीन सय ४४ पर्यटकले मनास्लु क्षेत्रको भ्रमण गरेका थिए ।

२०७२ वैशाख १२ को भूकम्प र त्यसपछिको कोरोनाले सुस्ताएको पदमार्गमा गत आर्थिक वर्षबाट पर्यटकको चहलपहल बढ्न थालेको उहाँले बताउनुभयो। आर्थिक वर्ष २०७५/७६ मा सात हजार ६ सय ५५ जना विदेशी मनास्लु क्षेत्र पुगेका थिए । त्यसपछिको तीन वर्ष भने कोरोना महामारीका कारण पर्यटकको संख्यामा कमी आएको एमक्यापको तथ्यांकले देखाउँछ ।

कोरोनाका कारण आव २०७७/७८ मा १ सय ९४ र २०७८/७९ मा दुई हजार दुई सय ८२ विदेशीले मात्र मनास्लु क्षेत्र भ्रमण गरेको थिए । गत आर्थिक वर्षबाट मनास्लु क्षेत्र पुनः लयमा फर्किएको पर्यटन व्यवसायी बताउँछन् । यही रफ्तारमा पर्यटक आय चालु आर्थिक वर्ष आठ हजार चार सय बढी मनास्लु क्षेत्र आउने लक्ष्य राखेको एमक्याप प्रमुख शेरचनले बताउनुभयो। अक्टोबर, नोभेम्बर, सेप्टेम्बर, अप्रिल र मे महिनामा मनास्लु भ्रमणका लागि उपयुक्त मानिन्छ ।

मनास्लु क्षेत्र घुम्ने विदेशी पर्यटकका लागि तीन हजार, सार्क राष्ट्रका पर्यटकका लागि १ हजार रुपैयाँ प्रवेश शुल्कबापत लिइँदै आएको छ । मनास्लु संरक्षण क्षेत्रअन्तर्गत चुमनुव्री गाउँपालिकाको ७ वडा पर्छ । सडक सञ्जाल विस्तार नभएको र पदयात्रीका लागि प्राकृतिक सौन्दर्यसँगै विभिन्न संस्कृतिको अवलोकन गर्नेहरूको रोजाइमा मनास्लु क्षेत्र पर्ने गरेको उहाँले बताउनुभयो । मनास्लु क्षेत्रभित्र काल ताल र वीरेन्द्र ताल, गु गुम्बा, राजेन, सेराङ, हिनाङ लगायतका गुम्बाहरू, वन्यजन्तु, हिमशृंखलाको समेत अवलोकन गर्न पाउँछन् । एमक्याप अन्तर्गतको पर्यटक जाँचचौकी जगत्ले पदयात्रा मार्ग भएर जाने पर्यटकको विवरण संकलन गर्दै आएको छ । विदेशी पर्यटकको मात्रै अभिलेख राख्ने गरे पनि उक्त क्षेत्र पुग्ने आन्तरिक पर्यटकको संख्या पनि बढ्दै गएका छन्।

मनास्लु क्षेत्र आउने पर्यटक मनास्लु हिमाल आरोहण तथा लार्केपास गरी मनाङ हुँदै फर्कने गर्छन् । पदमार्ग आउने धेरैजसो पर्यटक पाँच हजार एक सय ६० मिटर उचाइको लार्के पास गर्न रुचाउने गर्छन् ।