बेनी–जोमसोम–कोरलाको यात्राअवधि एक घण्टाले छोटियो
2023-09-08 16:42:48cri
Share with:

 

मुस्ताङको थासाङ गाउँपालिका–५ कैकुखोलादेखि गाउँपालिकाको केन्द्र खन्ती जोड्ने सडक कालोपत्र भएपछि यात्राअवधि छोटिएको छ। उत्तर दक्षिण जोड्ने कालीगण्डकी कोरीडोरको बेनी–जोमसोम–कोरला सडक योजना अन्तरगत कैकुखोला–खन्ती खण्डको १६ किलोमिटर सडक कालोपत्र गर्ने काम सम्पन्न भएको नेपाल समाज अनलाइनले लेखेको छ।

योजना प्रमुख जगत प्रजापतिले सडक कालोपत्र भएपछि एक घण्टा तीस मिनेटको यात्रावअधि तीस मिनेटमा छोटिएको जानकारी दिनुभयो। “कैकुखोला–खन्ती खण्डमा सडक कालोपत्र भएपछि एक घण्टा यात्रा अवधी छोटिएको छ,” उहाँले भन्नुभयो “मुस्ताङका स्थानीय बासिन्दाका साथै पर्यटक र तिर्थयात्रीलाई सहज भएको छ।”

११ मिटर फराकिलो बनाइएको सडकमा नाली, ग्यावीयन पर्खाल निर्माण र ग्राभेलपछि ७ देखि ८ मिटरको चौडाइका दरले आक्सपाल्ट प्रविधिको कालोपत्र गरिएको हो। उकालो सडकमा ढलान गरिएको छ। भिरको जोखिमयुक्त सडकको डिलतर्फ साइडबार राखिएको छ।

सडक कालोपत्र भएपछि यात्रा अवधी छोटिएको र आवत जावत सहज भएको स्थानीयबासीहरुले ताएका छन्। मालढुङ्गादेखि कोरला नाकाको २०२ किलोमिटर दुरीको सडक विस्तार गर्न सञ्चालित १२ वटा प्याकेज मध्य कैकु–खन्ती खण्डको मात्रै पूर्णरुपमा कालोपत्र भएको हो।

बेनी–जोमसोम–कोरला सडक आयोजनाको तेस्रो प्याकेजमा पर्ने सो सडक कालोपत्र गर्न वि.स. २०७४ जेठमा शर्मा–गजुरमुखीसँग ठेक्का सम्झौता भएको थियो। कैकु–खन्ती सहित बेनी–जोमसोम खण्डको चार प्याकेज (भाग)मा छुट्टा छुट्टै निर्माण कम्पनीहरुसँग रु. दुई अर्ब पचास करोडमा ठेक्का सम्झौता भएको थियो।

वि.स. २०७४ मा शुरु भएको चीनको स्वशासित क्षेत्र कोरला नाका जोड्ने २०२ किलोमिटर दुरिको बेनी–जोमसोम–कोरला सडक आयोजनाको १२ वटा खण्डमा निर्माण भइरहेको छ। हालसम्म मुस्ताङको सात वटा खण्ड निर्माण सकिएको आयोजनाको भौतिक प्रगति करिब ७५ प्रतिशत छ।