१८ अर्ब लागतमा दुई प्रसारणलाइन र चार सबस्टेसन निर्माण
2023-09-08 16:39:37cri
Share with:

नेपालमा दुई प्रसारणलाइन र चारवटा सबस्टेसन निर्माण गर्न १८ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ। नयाँ खिम्ती–काठमाडौं ४ सय केभी तथा लप्सीफेदी–चाँगुनारायण १३२ केभी प्रसारणलाइन र चारवटा सबस्टेसनको निर्माण कार्य सम्पन्न गर्न अनुमानित लागत करिब १८ अर्ब रुपैयाँ लाग्ने भएको कारोबार अनलाइनले लेखेको छ।

आयोजना निर्माणका लागि एडिबीसँग १० चैत २०६८ मा पहिलो र एसियाली विकास बैंकसँग मार्च २०१२ मा र २५ भदौ २०७४ मा दोस्रो ऋण सम्झौता भएको थियो। सबस्टेसन रामेछापको नयाँ खिम्तीबाट सुरु भई सिन्धुपाल्चोकको बाह्रबीसे हुँदै लप्सीफेदीसम्मको ४ सय केभी प्रसारणलाइन जोडिने मन्त्रालयको भनाइ छ। नयाँ खिम्ती–बाह्रबीसे–लप्सीफेदी ४ सय केभी प्रसारणलाइन निर्माणको अन्तिम चरणमा रहेको मन्त्रालयले बताएको छ।

लम्सीफेदी सबस्टेसनबाट भक्तपुरको चाँगुनारायणसम्मको १ सय ३२ केभी प्रसारणलाइन र सबस्टेसन निर्माणाधीन छन्। चाँगुनारायण १ सय ३२ केभी सबस्टेसन सम्पन्न हुने चरणमा रहेको मन्त्रालयको भनाइ छ। सरकारले काठमाडौंको शंखरापुर नगरपालिका–३ स्थित बोजिनीमा स्थानीय प्रभावितहरूको जायज मागलाई सम्बोधन गरी लप्सीफेदी सबस्टेसनको निर्माण अगाडि बढाउने स्पष्ट खाका तयार पारेको बताएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले राष्ट्रिय आवश्यकतालाई ख्याल गर्दै सो सबस्टेसन तत्काल निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो। ‘स्थानीयवासीको समस्या समाधानका लागि सरकारले अधिकतम प्रयास गर्नेछ,’ उहाँले भन्नुभयो, ‘तामाकोसी तथा सुनकोसी नदी र तिनीहरूका सहायक खोलाहरूमा निर्माण भएका तथा हुने जलविद्युत आयोजनाको विद्युत काठमाडौं उपत्यकामा ल्याउन र स्थानीय रूपमा आपूर्ति गर्न लप्सीफेदीमा ४००/२२०/१३२/११ केभी सबस्टेसन निर्माण गर्न लागिएको हो।’

सबस्टेसनका लागि ५० जना जग्गाधनीको १ सय ७२ रोपनी जग्गा अधिग्रहणका लागि २०७४ जेठमा सार्वजनिक सूचना प्रकाशित गरी सोही वर्षको माघमा मुआब्जा तथा क्षतिपूर्ति रकम निर्धारण गरिएको थियो। एक जना जग्गाधनीबाहेक सबैले मुआब्जा तथा क्षतिपूर्ति रकम राजीखुसीले बुझिसकेका छन्। मुआब्जा तथा क्षतिपूर्तिबापत करिब ५० करोड रुपैयाँ वितरण गरिएको छ। नयाँ खिम्ती–काठमाडौं ४ सय केभी तथा लम्सीफेदी–चाँगुनारायण १ सय ३२ केभी प्रसारणलाइन र चारवटा सबस्टेसन गरी अनुमानित लागत करिब १८ अर्ब रुपैयाँ रहेको छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारणलाइनको मार्गाधिकारमा पर्ने जग्गाको क्षतिपूर्ति निर्धारणमा अधिकतम लचकता अपनाएर गरिने बताउनुभयो। ‘निर्माणमा अवरोध नगरी काठमाडौँ उपत्यकामा विद्युत आपूर्तिका लागि मेरुदण्डको रूपमा रहेको आयोजनाको निर्माणमा सहयोग गर्न आग्रह गर्छु,’ उहाँले भन्नुभयो।

प्राधिकरणका अनुसार काठमाडौँ उपत्यकाको विद्युत माग सन् २०५० सम्ममा ३ हजार २ सय मेगावाट पुग्ने प्रक्षेपण गरेर काठमाडौ वरिपरि र भित्री सडकमा २२० केभी प्रसारण तथा वितरण प्रणाली विस्तार गरिरहेको छ। तामाकोसी–काठमाडौं ४ सय केभी प्रसारणलाइनअन्तर्गत शंखरापुर नगरपालिका–३ मा ४ वटा टावर निर्माणमा अवरोध छ। रामेछाप, दोलखा, सिन्धुपाल्चोकलगायतका जिल्लामा उत्पादित विद्युत काठमाडौं उपत्यकामा प्रवाह गर्न तामाकोसी–काठमाडौं ४ सय केभी प्रसारणलाइन निर्माणाधीन छ।

यसैगरी, लप्सीफेदी सबस्टेसनबाट उपत्यकामा विद्युत छिराउन चाँगुनारायण सबस्टेसनसम्म १ सय ३२ केभी प्रसारणलाइन निर्माण हुँदैछ। चाँगुनारायणमा १ सय ३२ केभी सबस्टेसन निर्माणाधीन छ। तामाकोसी–काठमाडौं ४ सय केभी प्रसारणलाइनलाई दुई खण्डमा विभाजन गरी निर्माण भइरहेको छ। पहिलो खण्डमा नयाँ खिम्ती–बाह्रबीसेसम्मको ४४ किलोमिटर प्रसारणलाइनमा १ सय १८ वटा टावर पर्छ। दोस्रो खण्डमा बाह्रबीसे–लप्सीफेदीसम्मको ४६ किलोमिटर प्रसारणलाइनमा १ सय २२ वटा टावर पर्ने प्राधिकरणले जनाएको छ।