नेपाल लगानीको आकर्षक गन्तव्य रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ
2023-09-09 16:40:50cri
Share with:

 

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीको आकर्षक गन्तव्य हो र लगानीको अनुकूल वातावरण रहेको बताउनुभएको छ। शुक्रबार सिंहदरबारमा आयोजित लगानी बोर्डको १२ औं वार्षिकोत्सवको अवसर आयोजिक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको गोरखापत्र अनलाइनले लेखेको छ।

उहाँले भन्नुभयो, ‘‘तुलनात्मक र प्रतिस्पर्धात्मक लाभका क्षेत्रमा लगानीका अवसरहरू प्रशस्त छन्। म लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न आग्रह गर्न चाहन्छु।’’ प्रधानमन्त्रीले लगानीकर्ताको लागानीका प्रभावकारी सदुपयोग गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो।

उहाँले भन्नुभयो, ‘‘सरकार तपाईंको लगानीको प्रभावकारी सदुपयोग गर्न प्रतिबद्ध छ। हामी ठूला वा साना हरेक लगानीलाई महत्त्व दिन्छौं, र हामी ती लगानीहरूलाई जोखिममुक्त गर्न प्रतिबद्ध छौं। म यसमा सबै लगानीकर्ता र सरोकारवालालाई लगानी बोर्ड नेपाल र अन्य सम्बन्धित सरकारी संयन्त्रले तपाईंलाई उत्कृष्ट सेवाहरू प्रदान गर्ने आश्वासन दिन्छु।’’

व्यवसाय र लगानीको वातावरण सुदृढ गर्न नीतिगत, कानुनी, नियामक, प्रक्रियागत र संस्थागत व्यवस्थामा निरन्तर सुधार गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ।

उहाँले भन्नुभयो, ‘‘संविधानको मर्मअनुसार लगानीमैत्री वातावरण बनाउन सबै तहका सरकारबीच समन्वय र सहकार्य अपरिहार्य छ। हामीले विभिन्न तहका सरकारहरू बीचको समन्वय र सुदृढीकरणका लागि विभिन्न उपकरण र संयन्त्रहरू विकास गर्दै आएका छौं।’’