पोखरा विमानस्थलबाट पहिलो व्यावसायिक उडान
2023-09-09 16:37:01cri
Share with:

सञ्चालन भएको आठ महिनापछि पहिलो पटक शनिवार बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो व्यावसायिक उडान भएको छ। ड्रुक एयरको जहाज भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान पौने सात बजे पोखरा आएको गोरखापत्र अनलाइनले लेखेको छ। 

तीन यात्रु लिएर आएको एक सय ५० यात्रु क्षमताको ड्रुकको त्यो जहाजमा पोखराबाट ४२ पर्यटक लिएर भुटान फर्किएको छ। ड्रुक भुटानको राष्ट्रिय ध्वजावाहक विमान कम्पनी हो। पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट यसले दश अन्तर्राष्ट्रिय गन्तव्य र तीन आन्तरिक विमानस्थलमा उडान भर्दै आएको छ। यसले काठमाडौँमा पनि उडान गर्ने गरेको छ। 

ड्रुकको विमान बिहान पौने ७ बजे अवतरण गरी यात्रु लिएर पौने ८ बजे फर्किएको हो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो चोटि यात्रुहरू विदेशका लागि उडेका छन्। विमानस्थलले सुरु भएको आठ महिनापछि अन्तर्राष्ट्रिय उडानबाट आम्दानी गर्दैछ। 

विमानस्थलकी प्रवक्ता जशोदा सुवेदीले विमानस्थलबाट शनिवार भएको उडानले पहिलो पटक आम्दानी गरेकाले यसलाई पहिलो व्यावसायिक उडान मानिएको बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ, “तीन यात्रु लिएर आएको जहाज ४२ यात्रु लिएर फर्किएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो चोटि यात्रु विदेशका लागि उडेको र विमानस्थलले पनि आम्दानी गरेकाले यसलाई पहिलो व्यावसायिक उडान मानेका छौँ।”

यहाँ पहिलो वर्ष अन्तर्राष्ट्रिय उडानमा पार्किङ, ल्यान्डिङ लगायतका शुल्क नलाग्ने व्यवस्था गरिएको छ। यही कारणले विमानस्थल कर मात्रै आम्दानी भएको हो।“अन्तर्राष्ट्रिय उडानमा यात्रुले प्रतिव्यक्ति तीन हजार रुपियाँ विमानस्थलकाे कर तिर्नुपर्छ,” सुवेदीले भन्नुभयो।

युरोपेली देशका पर्यटकलाई लैजानका लागि यो विमान चार्टर गरिएको हो। केही दिनअघि काठमाडौँ आएका ती पाहुना शुक्रवार बिहान हेलिकप्टरबाटै कुरिनटार ओर्लिएका थिए। त्यसअघि काठमाडौँबाट ती पाहुनाले सगरमाथा क्षेत्रको पर्वतीय यात्रा गरेका थिए। कुरिनटारमा ओर्लिएका उहीहरूले त्यहाँ त्रिशूलीमा र्याफ्टिङ गरेका थिए। 

यसअघि चीनको छेन्दुबाट सिचुआन एयरलाइन्सको जहाज आएको थियो। पोखरामा भएको ड्रागन बोट रेसमा सहभागी खेलाडी र अतिथिलाई लिएर सिचुआनको जहाज आएको थियो। सिचुआनको जहाज फर्किदा रित्तै थियो। गएको जनवरी १ मा विमानस्थल उद्घाटन भए पनि यो अहिलेसम्म केही चार्टर विदेशी उडान र आन्तरिक उडानमै सीमित छ।  पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन झन्डै २२ अर्ब रुपियाँ लगानी भएको छ।