रोजगारीका लागि दुई वर्षमा १४ लाख नेपाली युवा विदेसिए
2023-09-09 16:42:32cri
Share with:

पछिल्लो दुई वर्षमा मात्रै वैदेशिक रोजगारीका लागि १४ लाख नेपाली युवा बिदेसिएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार यस अवधिमा १२ लाख ८० हजार एक सय ६२ पुरुष र एक लाख २१ हजार दुई सय ६२ महिला विदेश भासिएका नयाँ पत्रिका अनलाइनले लेखेको छ । 

कोभिड महामारीपछि विश्वका सबैजसो मुलुक आर्थिक संकटमा छन् । भएका उद्योग–व्यवसाय धराशायी बन्न थालेका छन् भने नयाँले पनि गति लिन सकेका छैनन् । विकसित मुलुकले कोभिडपछि नयाँ–नयाँ उद्योग र सम्भावनाको खोजी गरे पनि नेपालमा भने खासै गति लिन सकेको छैन । जसका कारण वाध्य भएर युवाशक्ति पलायन हुने क्रम बढेको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले बताउनुभयो । 

विभागको तथ्यांकअनुसार आर्थिक वर्ष ०७९/८० मा मात्रै सात लाख ७१ हजार तीन सय २७ युवा रोजगारीका लागि बिदेश भासिएका छन् । जसमा ६ लाख ९९ हजार एक सय ९३ पुरुष र ७२ हजार एक सय ३४ महिला रहेका छन् । त्यस्तै, आव ०७८/७९ मा ६ लाख ३० हजार ९७  युवा विदेसिएका छन् । त्यसमध्ये पाँच लाख ८० हजार नौ सय ६९ पुरुष र ४९ हजार एक सय २८ महिला रहेको विभागको तथ्यांक छ । 

वैदेशिक रोजगारीका लागि नेपाली श्रमिकको मुख्य गन्तव्य खाडी मुलुक र मलेसिया पर्ने गरेको छ । करिब ८० प्रतिशत नेपाली श्रमिक खाडी र मलेसिया गएका छन् । पछिल्लो पाँच वर्षमा १४ लाख ४६ हजार ७१ श्रमिक (नयाँ श्रम स्वीकृति लिएका मात्रै) खाडीका विभिन्न मुलुक र मलेसिया गएको देखिन्छ । 

विभागको तथ्यांकअनुसार यी मुलुकमध्ये पनि तीन लाख ३० हजार पाँच सय २१ जना कतार पुगेका छन् । खाडी मुलुकमध्ये कतारमा सबैभन्दा धेरै नेपाली श्रमिक गएका तथ्यांकले देखाउँछ । गत आव ०७९/८० मा कतारमा ४० हजार पाँच सय १७ नेपाली श्रमिक पुगे । त्यस्तै, ०७८/७९ मा ७६ हजार आठ सय २३ तथा ०७७/७८ मा २२ हजार एक सय ३१ श्रमिक कतार गए । ०७६/७७ मा २९ हजार आठ सय ३५ जना गएकामा ०७५/७६ मा एक लाख ६१ हजार दुई सय १५ जना नेपाली श्रमिक कतार गए । पछिल्लो समय खाडी मुलुकमध्ये कतार आर्थिक रूपमा सबल बन्दै गएको छ । यो मुलुकले अन्तर्राष्ट्रिय श्रम संगठनअनुसार आप्रवासी श्रमिकलाई पनि सेवा–सुविधा दिन थालेपछि कतार आकर्षक गन्तव्य बन्न थालेको हो । त्यस्तै, कतारले हालै सम्पन्न गरेको विश्वकपका लागि आवश्यक पूर्वाधार निर्माण गर्न धेरै आप्रवासी श्रमिक भित्र्याएको थियो । 

कतारपछि नेपाली श्रमिकको मुख्य गन्तव्यमा मलेसिया परेको छ । पाँच वर्षको अवधिमा मलेसियामा तीन लाख २६ हजार आठ सय ६८ नेपाली श्रमिक पुगेका छन् । मलेसियाले गत वर्ष मात्रै आप्रवासी श्रमिकको पारिश्रमिक वृद्धि गरेको थियो । कोभिडपछि यो मुलुकले बहुराष्ट्रिय कम्पनीलाई भित्र्याएको छ । खाडी मुलुकको तुलनामा यो मुलुकमा आप्रवासी श्रमिकलाई स्वतन्त्रता हुने हुँदा पनि नेपाली श्रमिकले मलेसिया रोज्ने गरेका छन् । 

साउदी अरबमा पनि पाँच वर्षमा तीन लाख ६१ हजार ६ सय ६७ जना नेपाली श्रमिक गएका छन् । भौगोलिक रूपमा साउदी अरब अन्य मुलुकको तुलनामा ठूलो छ । साउदीले नयाँ–नयाँ पूर्वाधार निर्माण र कम्पनी सञ्चालनमा प्रोत्साहन गरेकाले धेरै आप्रवासी कामदार भित्र्याएको छ । यद्यपि, साउदी अरबसँग नेपालले श्रम सम्झौता गरेको छैन । १० वर्षदेखि सम्झौताको तयारी गरे पनि हालसम्म सम्पन्न हुन सकेको छैन । 

नेपाली श्रमिकका लागि अर्को आकर्षक गन्तव्य युनाइटेड अरब इमिरेट्स (युएई)मा पाँच वर्षमा दुई लाख ९६ हजार पाँच सय ४७ युवा गएका छन् । आप्रवासी कामदारका लागि यो मुलुकले खुकुलो नीति बनाएको छ । भिजिट भिसामा जाने व्यक्तिले पनि सजिलै वर्किङ भिसा परिवर्तन गर्न पाउने भएपछि भिजिट भिसा हुँदै युएई जानेको संख्या बढेको छ । तर, दलालहरूले भिजिट भिसामा लगेर अलपत्र पार्ने गरेका घटना पनि युएईमा धेरै छन् । 

पाँच वर्षमा ८९ हजार एक सय ६८ नेपाली श्रमिक कुवेत पुगेको विभागको तथ्यांक छ । २६ हजार ६ सय ६९ बहराइन गए भने १५ हजार तीन सय ३१ जना ओमान पुगेका छन् । 

खाडी र मलेसियासँगै नेपाली श्रमिक अहिले युरोपियन मुलुकतर्फ मोडिन थालेका छन् । खाडी र मलेसियाको तुलनामा युरोपियन मुलुकले दिने सेवा–सुविधा उत्कृष्ट हुने तथा परिवारसमेत लैजान पाउने भएपछि नेपाली श्रमिक युरोपतर्फ मोडिएका हुन् । 

तर, सरकारले हालसम्म कुनै पनि युरोपियन मुलुकसँग श्रम सम्झौता गरेको छैन । तर, केही म्यानपावर कम्पनीमार्फत तथा व्यक्तिगत रूपमा श्रम स्वीकृति लिएर नेपाली युरोपका विभिन्न मुलुकमा जान थालेका छन् । युरोपियन मुलुकमध्ये साइप्रस, पोल्यान्ड, रोमानिया, टर्की, माल्टा, जर्मनी, पोर्चुगललगायत मुलुक जान थालेका छन् । 

विभागको तथ्यांकअनुसार पाँच वर्षको अवधिमा श्रम स्वीकृति लिएर १२ हजार दुई सय ९६ नेपाली श्रमिक साइप्रस गएका छन् । गत आवमा मात्रै चार हजार दुई सय ७५ ले साइप्रसका लागि विभागबाट श्रम स्वीकृति लिए । त्यस्तै, पछिल्ला पाँच वर्षमा २४ हजार ६ सय ३६ नेपालीले रोमानिया जान विभागबाट श्रम स्वीकृति लिएका छन् । गत आवमा मात्रै १३ हजार एक सय ३७ रोमानिया गएका छन् । 

पाँच वर्षमा १० हजार तीन सय ५२ नेपाली श्रमिक माल्टा पुगेका छन् । विभागको तथ्यांकअनुसार पाँच हजार ६ सय तीनजनाले माल्टाका लागि श्रम स्वीकृति लिएका छन् । त्यस्तै, सो अवधिमा आठ हजार दुई सय ४९ जना पोल्यान्ड गएका छन् । चार हजार तीन सय नौजना टर्की गएका छन् भने एक हजार नौ सय ५२ जना पोर्चुगल पुगेका छन् ।