काठमाडौँ र चीनको समुद्री शहर छिङग्ताओबीच हिमालय एयरलाइन्सको उडान शुरु
2023-09-10 15:45:02cri
Share with:

 

आज सेप्टेम्बर १० तारिखदेखि हिमालय एअरलाइन्सले चीनको छिङ्ग्ताओ शहर र काठमाडौँबीच सीधा उडान शुरु गरेको छ। नयाँ सेक्टर उद्घाटनका लागि सँस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती, नेपालका लागि चिनियाँ राजदूत छन सोङ्ग र पर्यटन सचिव भरतमणि सुवेदी, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारी, हवाइ सुरक्षा शाखा प्रमुख बच्चुराम श्रेष्ठलगायत पुगेको र यात्रुहरुलाई खादा लगाएर सम्मान र बिदाई गरेको प्राप्त समाचारमा जनाइएको जनआस्थाले लेखेको छ।

हिमालयन एयरका अध्यक्ष चौ एन्योङ्गले स्वागत मन्तव्य राख्नु भएको सो कार्यक्रममा राजदूत छन सोङले चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको २०१९ मा नेपाल भ्रमण हुँदा प्रस्तुत ट्रान्स हिमालयन कनेक्टिभिटीको अवधारणाअनुरुप यो उडानले इतिहास रचेको बताउनुभयो।

मन्त्री सुदन किराँतीको भनाइ छ -छिङ्ग्ताओजस्तो राम्रो र परिचित शहरमा नेपालबाट सिधा उडान हुनु राम्रो कुरा हो। धेरैभन्दा धेरै चिनियाँ पर्यटक नेपाल आउनेमा यो उडानले सहयोग गर्ने बिश्वास छ।

हिमालयन एयरका उपप्रमुख विजय श्रेष्ठले भन्नुभयो-हामीले प्रतिफलको आशा नगरी चुनौतिका साथ नेपालबाट चीनको नयाँ र पहिलो गन्तव्यमा उडान शुरु गरेका हौं। हिमालयन एयर अन्य सेवा प्रदायकभन्दा फरक छ। पोखरामा पनि पहिलो उडान गरेको यसैले हो। 

पहिलो उडानबाट एक बालकसहित ११४ जना यात्रु गएका छन्। एच ९७२२० को उडान बिहान ९ बजेर १५ मिनेट जाँदा ती यात्रु लिएर छिङ्ग्ताओ प्रस्थान गरेको हो।