भोटेकोशी गाउँपालिकाको नमूना विद्यालयलाई चिनियाँ सहयोग
2023-09-10 15:50:27cri
Share with:

नेपाल र चीनबीचमा तातोपानी नाकाबाट मानव आवतजावतसहित भदौ १५ गतेबाट सुरु भएसँगै चिनियाँहरू सीमामा सक्रिय हुन थालेका छन् । चीन सरकारले भोटेकोशी गाउँपालिकामा रहेको नमूना स्कुल झिर्पु माध्यमिक विद्यालयलाई खेलकुद र स्टेसनरी सामान सहयोग गरेको नयाँ पत्रिका अनलाइनले लेखेको छ। 

न्यालम काउन्टीको समन्वयमा सिगात्से सहरको विदेश विभागले सामग्री सहयोग गरेको हो। विभागका प्रमुख मिस्टर छेतेन शुक्रबार मितेरी पुलमा आएर विद्यालयका अध्यक्ष आङछिरी शेर्पा, वडा नं ३ का वडाध्यक्ष तथा पालिका शिक्षा समिति सदस्य निमासोना शेर्पासहितको विद्यालयको सल्लाहकार टिमलाई लिपिङमा सामान हस्तान्तरण गर्नु भएको हो।

नेपाल–चीन कार्यकारी परिषद् सिन्धुपाल्चोकका अध्यक्षसमेत रहनु भएका झिर्पु विद्यालयका सल्लाहकार लोब्साङ शेर्पाले चीन सरकारसँग समन्वय गर्नु भएको हो। सिगात्से सहरका विदेश विभाग प्रमुखले हस्तान्तरण गर्नु भएको सामग्रीमा चाइनिज लर्निङ बुक दुई सय थान, ब्याडमिन्टन र ब्याडमिन्टन र्याकेट सय थान, २० बास्केटबल, स्किपिङ रोप एक सय थान, दुई सय थान डेस्क–बेन्च र केही शैक्षिक सामग्री छन् । नाका सुचारु भएपछि दैनिक रूपमा पाँच सय नेपाली र कम्तीमा ५० चिनियाँ नेपाल–चीन ३० किलोमिटर क्षेत्रमा आउजाउ गरिरहेका छन् ।