हिल्सा नाका हुँदै मानसरोवर कैलाशको दर्शन गर्ने धार्मिक पर्यटकको सङ्ख्या वृद्धि
2023-09-11 16:05:51cri
Share with:

हिल्सा नाका हुँदै मानसरोवर कैलाशको दर्शन गर्ने धार्मिक पर्यटकको सङ्ख्या ११० पुगेको छ। गत वैशाख १८ पछि चीन सरकारले हिल्सा नाका दुईतर्फी रूपमा सञ्चालनमा ल्याएपछि सिमकोट हुँदै हिल्साबाट मानसरोवर कैलाशको दर्शन गर्ने पर्यटकको सङ्ख्या यति पुगेको गोरखापत्र अनलाइनले जनाएको छ।

 

प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले कोरोनापछि नेपालगन्जदेखि हवाई मार्गबाट आएका ११० जना पर्यटकले हिल्साबाट चीनको ताक्लाकोट हुँदै मानसरोवर कैलाशको दर्शन गरेको बताउनुभयो ।

 

यस वर्षको पहिलो समूहले असार दोस्रो हप्तादेखि मानसरोवर कैलाशको दर्शन गरेको थियो । उहाँले हिल्सा हुँदै मानसरोवर कैलाशको दर्शन गर्ने पर्यटकमा ३९ जना एनआरएन रहेको र ७५ जना तेस्रो देशका रहेको बताउनुभयो । दर्शन गर्ने पर्यटकमध्ये छ जनाले भने लाप्चाबाट मानसरोवर कैलाशको दूरदर्शन गरेको उहाँले बताउनुभयो।

 

हिल्साका होटल व्यवसायी कार्मा तुण्डुप लामाले हिल्सा नाका खोले पनि सन्तोषजनक रूपमा पर्यटकको आगमन नभएको बताउनुभयो । उहाँले यसो हुनुमा मुख्य गरी चीनले भारतीय धार्मिक पर्यटकलाई नछोडेका कारण पर्यटकको सङ्ख्यामा कमी देखिएको बताउनुभयो । यद्यपि सिमकोट र हिल्साका होटल व्यवसायीलाई थोरै भए पनि राहत भने मिलेको छ । कोरोनायता हिल्सा नाका चीनले बन्द गरेको थियो । यसले गर्दा सिमकोट र हिल्साका होटल तथा पर्यटन व्यवसायी मर्कामा पर्दै आएका थिए । पर्यटन व्यवसायी विजय लामाले अझै केही पर्यटकको समूह हिल्सा र लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गर्ने गरी आउन लागेको बताउनुभयो।