गत वर्ष साढे ४ लाखको घाँस निर्यात
2023-09-12 15:43:27cri
Share with:

मुलुकबाट गत वर्ष ४ लाख ५२ हजार रुपैयाँ बराबरको हेलेज निर्यात भएको छ । गत वर्ष २ हजार १ सय ५० किलो हेलेज अर्थात् प्रशोधित घाँस निर्यात भएको भन्सार विभागको तथ्यांक छ । चिनियाँ परराष्ट्रमन्त्री वाङ यी नेपाल भ्रमणका बेला ०७८ चैत १२ मा नेपाल र चीनबीच भएको सम्झौताअनुसार हेलेज निर्यात हुन थालेको हो । हेलेज काटेर सुकाएको घाँसबाट बनाइन्छ । यस्तै हरियो घाँसलाई प्लास्टिकमा हावा नछिर्ने गरी बेरेर साइलेज बनाइन्छ । साइलेजमा हेलेजको भन्दा धेरै ओसिलोपना हुन्छ । नेपालमा घाँसबाट हेलेज र साइलेज बनाउने प्रविधि भर्खरै भित्रिए पनि हाल हेलेज निर्यात सुरु भइसकेको पशु विभागका प्रवक्ता चन्द्रप्रसाद ढकालले बताउनुभयो। हेलेज र साइलेज प्रविधि निर्यातका लागि मात्रै नभएर यसले आन्तरिक बजारमा पनि दूधको उत्पादन र उत्पादकत्व बढाइरहेको उहाँको भनाइ छ ।


चिनियाँ लगानीका नेपाल होराइजन इन्टरनेसनलले चितवनमा हेलेज उत्पादन गरी चीन निर्यात गरेको विभागले जनाएको छ । भरतपुर–५ प्रेमबस्तीमा खोलेको कारखानामा निर्यातकै लागि हेलेज उत्पादन हुने गरेको छ । चितवनमा सहकारीहरूले स्थानीय स्तरमा खपत हुने किसिमले साइलेजसमेत उत्पादन गरिरहेको प्रवक्ता ढकालले बताउनुभयो।


हेलेज र साइलेज बनाउने प्रविधिले किसानलाई फाइदा पुगिरहेको विभागले जनाएको छ । मौसमी र बेमौसमी दुवै समयमा मकै रोपेर घोगा लाग्ने बेलामा काटेर बेच्न सकिने विभागको भनाइ छ । मौसमी मकै रोप्दा प्रतिकट्ठा ४ देखि ५ हजार पाइन्छन् भने बेमौसमी मकैमा ९ हजारदेखि माथि पाउने प्रवक्ता ढकालले बताए । पोसिलो हुने भएकाले साइलेजको माग धेरै नै हुने गरेको छ । चीनको तिब्बतमा धेरै समय हिउँ पर्छ । त्यसबेला घाँसको अभाव हटाउन त्यहाँ पालिने चौंरी, च्याङ्ग्रालगायत पशुलाई प्रशोधित घाँस खुवाइन्छ । विभागले चीनमा निर्यात गर्दा पूरा गर्नुपर्ने दुवै मुलुकको मापदण्ड पूरा गरेर उद्योग सञ्चालन गर्न दिएको कान्तिपुरले लेखेको छ।