नेपाल-चीन संयुक्त व्यापार कार्यदलको वार्ता आजदेखि
2023-09-12 15:42:17cri
Share with:

नेपाल र चीनबीचको व्यापार सहजीकरण गर्ने उद्देश्यले आज मंगलबारदेखि सचिवस्तरीय वार्ता हुँदैछ। दुई मुलुकबीच देखिएका व्यापारिक समस्या समाधान गर्ने उद्देश्यले यो वार्ता हुन लागेको हो। चीनको राजधानी बेइजिङमा सेप्टेम्बर १२ र १३ मा हुने व्यापार वार्ताका लागि वाणिज्य सचिव मधु मरासिनीको नेतृत्वमा पाँच सदस्यीय नेपाली टोली सोमबार त्यसतर्फ लागेको छ।

 

सन् २०१९ मा चीनका राष्ट्रपति सि जिनपिङ नेपाल भ्रमणमा आएका बेला दुई मुलुकबीच व्यापारिक गतिविधिमा देखिने समस्या हल गर्न र व्यापार सहजीकरण गर्ने उद्देश्यले संयुक्त व्यापार कार्यदल गठन भएको थियो। यो कार्यदलको पहिलो बैठक भर्चुअल रुपमा भएको थियो। प्रत्यक्ष रुपमा हुन लागेको यो पहिलो बैठक हो।

 

यो वार्ताको मुख्य उद्देश्य दुई मुलुकबीचको व्यापारमा देखिएका समस्याको समाधान खोज्ने र व्यापार विस्तारका लागि आवश्यक अन्य विषयहरुमा छलफल गर्ने रहेको छ। वाणिज्य मन्त्रालयका एक अधिकारीका अनुसार नेपालले यो वार्तामा मुख्य गरी आधा दर्जन एजेन्डा प्रस्ताव गर्नेछ । लामो समयदेखि दुई मुलुकबीचका नाका निर्वाध रुपमा सञ्चालनमा आउन सकेका छैनन् । २०७२ को भूकम्पपछि सबैभन्दा चल्तीको तातोपानी–खासा नाका साढे आठ वर्षसम्म बन्द भएको थियो । केही दिन अघिमात्र यो नाका पूर्ण रुपमा सञ्चालनमा आएको छ । अझै पनि यो नाकाबाट सिन्धुबासी बाहेक अन्य जिल्ला र विदेशी नागरिकले आवागमनको सुविधा पाउन सकेका छैनन्।

 

यस्तै, कोभिडको बहानामा रसुवागढी–केरुङ नाका पनि लामो समय बन्द हुन पुगेको थियो। कारोबार अनलाइनका अनुसार यो नाका अहिले सञ्चालनमा आएको छ, तरपनि समस्या सबै सुल्झिएको छैन।

यसबाहेक दुई मुलुकबीचका करिब एक दर्जन व्यापारिक नाकाहरुमा पनि केही न केही समस्याहरु छन्।


‘दुई मुलुकबीचका व्यापारिक नाकाहरुलाई विगतमा जस्तै निर्वाध रुपमा सञ्चालनमा ल्याउने र कुनै पनि मुलुकबाट समस्या खडा नगर्ने गरी सहमति गर्ने हाम्रो प्रस्ताव हुनेछ,’ वाणिज्य मन्त्रालयका ती अधिकारीले भने। उनका अनुसार दुई मुलुकबीचको व्यापारमा सहजीकरण गर्ने उद्देश्यले आवश्यक पूर्वाधार निर्माणबारे पनि छलफल हुनेछ। नाकाहरुसम्म पुग्ने सडक स्तरीय बनाउने, व्यापारिक सामानको गुणस्तर परीक्षणका लागि क्वारेन्टाइन र ल्याबको व्यवस्था गर्नेलगायत विषय व्यापार सहजीकरणमा समेटिने उनले जानकारी दिए ।

 

भारतले जस्तै चीनले पनि अहिले क्वारेन्टाइनको विषयलाई उठाउँदै आएको छ। नेपालबाट कृषि र मासुजन्य वस्तुको निर्यातमा चीनले क्वारेन्टाइन परीक्षणलाई उठाएकाले निकासीमा समस्या आइरहेको छ । कतिपय वस्तुको क्वारेन्टाइन परीक्षण गर्न नेपाली व्यवसायीहरु बेइजिङसम्म पुग्नुपरेको छ । ती अधिकारीका अनुसार नेपाली वस्तु चीन निर्यात गर्न अहिले ल्याबको सबैभन्दा ठूलो समस्या हुने गरेको छ। यसलाई वार्ता टोलीले महत्वका साथ राख्नेछ।

 

यस्तै, चीनले भन्सार सुविधा दिएका ७ हजारभन्दा बढी वस्तुको निकासी बढाउन सहजीकरण गर्न नेपालले चिनियाँ पक्षसँग माग गर्नेछ । अहिले भन्सार सुविधा पाउने वस्तुको निकासी पनि राम्रो हुन सकेको छैन । नेपालको वैदेशिक व्यापारमा चीनको हिस्सा भारतपछि दोस्रो स्थानमा छ । दुई मुलुकबीचको व्यापारमा नेपालले सधैं घाटा व्यहोर्दै आएको छ । चीनले नेपाललाई हजारौं वस्तुमा भन्साररहित सुविधा दिए पनि त्यसबाट नेपालले फाइदा उठाउन सकेको छैन ।

 

नेपालले फाइदा उठाउन नसक्नुमा नेपालसँगै चिनियाँ पक्षको भूमिका पनि ठूलो छ। सामान्य रुपबाट हेर्दा चीनले व्यापारमा सहजीकरण गर्न खोजेको देखिन्छ, तर चिनियाँ भूमिका त्यति सजिलो छैन । यही कारण दुई मुलुकबीचको व्यापारमा बेला–बेलामा समस्या आइरहेका देखिन्छन् । यसअघि पनि दुई मुलुकबीचको व्यापारमा देखिएका समस्या हल गर्ने र व्यापारिक क्रियाकलाप बढाउने उद्देश्यले वार्ताहरु हुँदै आएका थिए । ती वार्ताहरुमा व्यापारका लागि पूर्वाधार निर्माणमा जोड दिइँदै आएको थियो । खासगरी नेपालले रसुवागढीमा सुख्खा बन्दरगाह निर्माणका लागि चिनियाँ पक्षसँग आग्रह गर्दै आएका छ । यस्तै, काठमाडौंदेखि तातोपानीसम्मको सडक फराकिलो बनाउने एजेण्डा पनि त्यस्ता बैठकमा राखिँदै आएका छन् ।

 

अर्को नेपालमा कुनै पनि चिनियाँ बैंकको शाखा नभएकाले व्यापारिक कारोबारमा समस्या पर्दै आएको छ । यो समस्यालाई समाधान गर्न विगतका बैठकहरुमा चिनियाँ पक्षलाई नेपालमा शाखा खोल्न अनुरोध गरिएको थियो । अहिलेसम्म चिनियाँ बैंकले शाखा खोलेको छैन । नेपाल र चीनबीच लामो समयदेखि व्यापारिक कारोबार भए पनि नेपालको पक्षमा हुन सकेको छैन । गत वर्ष दुई मुलुकबीचको कारोबारमा नेपालले ४६ अर्ब व्यापार घाटा व्यहोरेको थियो ।

 

गत वर्ष नेपालले २ खर्ब २२ अर्ब रुपैयाँका सामान आयात गरेकामा १ अर्ब ७६ करोड रुपैयाँका सामान निर्यात गरेको थियो । नेपालले चीनबाट लत्ताकपडा, इलेक्ट्रोनिक्स सामान, गाडी, फलफूललगायत सामान आयात गर्छ । यस्तै नेपालबाट चाउचाउ, कृषि र मासुजन्य सामान, तरकारी, खाद्यान्न, हस्तकला र जडिबुटी, प्रशोधित छाला, धुपलगायत सामान निकासी हुँदै आएको छ।