नेपालमा आर्थिक कारोबारमा वृद्धि, भदौयता मात्रै १४ प्रतिशतले बढ्यो राजस्व
2023-09-13 16:05:15cri
Share with:

आर्थिक क्रियाकलापमा क्रमशः सुधारका संकेत देखिन थालेको छ।गत वर्षदेखि ऋणात्मक वृद्धिदर देखिएको राजस्व चालु आर्थिक वर्षको भदौ २५ गतेसम्म आइपुग्दा धनात्मक देखिएको छ। सरकारी आय/व्ययको विवरण राख्ने महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकले यस्तो देखाएको हो। भदौ २४ गतेसम्म गत वर्षको तुलनामा न्यून राजस्व उठेकोमा २५ गते एकै दिन ६ अर्ब ३६ करोड राजस्व उठेपछि असुली गत वर्षको भन्दा धेरै भएको हो।

 

सेतोपाटी अनलाइनका अनुसार पछिल्लो पाँच दिनमा मात्रै २० अर्ब रूपैयाँले राजस्व बढेको छ। आर्थिक वर्ष २०७८/७९ मा भदौ २५ गतेसम्म एक खर्ब २७ अर्ब रूपैयाँको राजस्व उठेको थियो भने चालु वर्षमा एक खर्ब ३० अर्ब पुगेको छ। समग्रमा राजस्व मात्रै ३ अर्ब रूपैयाँले वृद्धि भए पनि पछिल्ला दिनहरूमा यस्तो वृद्धिदर बढेको छ। अघिल्लो वर्षको भदौ र यस वर्षको भदौमा उठेको राजस्वले राजस्व असुलीमा राम्रै सुधार भएको देखाउँछ।

 

गत वर्ष भदौ १ देखि २५ गतेको बीचमा ४८ अर्ब रूपैयाँको राजस्व उठेको थियो भने चालु वर्षमा यही समयमा ५५ अर्ब रूपैयाँ राजस्व उठेको छ। महालेखाको तथ्यांकअनुसार भदौ लागेयता यस्तो असुली १४ प्रतिशतले बढेको छ। आन्तरिक राजस्व विभागका अधिकारीहरूका अनुसार मूल्य अभिवृद्ध कर शीर्षकमा उठ्ने राजस्व बढेको कारण सुधार देखिएको छ।

मूल्य अभिवृद्धि कर नियमावलीको नियम २६ को व्यवस्था अनुसार एक महिनाको तिर्नपर्ने सो अवधि समाप्त भएको मितिले २५ दिनभित्र (२५ गते भित्र) पेस गर्नु पर्ने वा कर भुक्तानी गर्नुपर्ने हुन्छ। त्यसैले हरेक महिनाको २० गतेदखि २५ गतेको अवधिमा मूल्य अभिवृद्धि कर बढी उठ्ने गर्छ।

त्यस्तै, आन्तरिक कारोबारको मूल्य अभवृद्धि कर कारोबार भएको अर्को महिनाको २५ गतेभित्र पेस हुन्छ। अन्तर्राष्ट्रिय व्यापारमा हुने मूल्य अभिवृद्धि कर भने भन्सार जाँचपास गर्ने क्रममा भन्सार बिन्दुमा नै उठाइन्छ। यही कारण मुलुकभित्र साउनको कारोबारमा लाग्ने मूल्य अभिवृद्धि कर रकम भदौमा असुल भएकोले यस्तो वृद्धि देखिएको कर अधिकारीहरू बताउँछन्।

 

यो वर्षबाट सरकारले विदेश भ्रमणमा जाने नेपालीबाट पनि ५ प्रतिशत पर्यटन शुल्क लगाउन सुरू गरेको छ। यस्तो शुल्कको विवरण पनि ट्राभल कम्पनीले अर्को महिनाको २५ गतेभित्र पेस गर्नुपर्ने भएकोले यसरी उठेको रकम समेत भदौमा देखिएको बताइएको छ। आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनालीले क्रमशः आर्थिक क्रियाकलपामा सुधार देखिएको कारण राजस्व पनि बढ्न थालेको बताउनुभयो।

सरकारले चालु आर्थिक वर्षको बजेटबाट वैदेशिक पर्यटन शुल्क, विलासिता (लक्जरी) शुल्क र वैदेशिक रोजगारी शुल्क लगाउन सुरू गरेको थियो। त्यस्तै, यसै आर्थिक वर्षबाट विगतमा मूल्य अभिवृद्धि करमा छुट दिइएका एक सय ७० वस्तुको छुट खारेज गरिएको थियो। यसले पनि राजस्वको दायरा वृद्धि हुन पुगेको छ।

भन्सार अधिकारीहरूले अहिले दैनिक आयात बढ्दा राजस्व पनि वृद्धि भएको बताएका छन्। वीरगञ्ज भन्सार कार्यलयमा प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले भदौ लागेयता दैनिक औसत ४० करोडको राजस्व उठेको र पछिल्ला दिनहरूमा थप बढेको बताउनुभयो। साउन ३१ को मन्त्रिपरिषद् बैठकले जग्गाको कित्ताकाट खुला गरेसँगै यसको प्रभाव देखिन थालेको व्यवासायीहरूले बताएका छन्।

भदौ लागेयता बैंकबाट प्रवाह हुने ऋण पनि बढेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार भदौ १ गतेदेखि २३ गतेसम्म ३२ अर्ब रूपैयाँ कर्जा बढेको छ। यसले पनि अर्थतन्त्रमा क्रमिक रुपमा माग बढ्दै गइरहेको देखिन्छ।