सवारीसाधनको मेला ‘नाडा अटो एक्सपो २०२३’ सुरु, बजार चलायमान हुने आशा
2023-09-13 16:04:20cri
Share with:

मुलुकको अर्थतन्त्र सुस्ताएको बेला सवारीसाधनको मेला सुरु भएको छ । चार वर्षपछि सञ्चालनमा आएको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको १५ औं संस्करण ‘नाडा अटो शो’ मंगलबारबाट राजधानीमा सुरु भएको हो ।

पछिल्लो डेढ वर्षदेखि मुलुकको अर्थतन्त्र सुस्त छ । यो बेला सवारीसाधनको खरिद–बिक्री पनि अपेक्षित रुपमा बढ्न सकेको छैन। अटोमोबाइल क्षेत्रको कुम्भ मेला मानिने नाडा अटो शोले सुस्ताएको सवारी बजारलाई गति दिने विश्वास व्यवसायीहरुको छ।

 

तीन वर्षपछि अटो शो आयोजना भएकाले अटोमोबाइल क्षेत्रका प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सरोकारवालाको उपस्थित रहेको नाडाका अध्यक्ष ध्रुव थापाले बताउनुभयो। उहाँले भन्नुभयो, ‘अटो शोमा दुई पांग्रे, चार पांग्रे, कमर्सियल सवारीका साथै पार्टपुर्जा र भर्खरै बजारमा आएका आधुनिक विद्युतीय सवारीहरुको जानकारी पाउन सकिने छ।’

नाडा अटो शोको पहिलो दिन नै उपझोताको बाक्लो उपस्थिति रहेकाले सुस्ताएको अटो बजारलाई चलायमान बनाउने विश्वास नाडाको छ। पछिल्लो समय आम उपझोक्तामा विद्युतीय सवारीको चासो बढेको र अटो शोमा ५० प्रतिशत विद्युतीय सवारीको स्टल रहेको अध्यक्ष थापाको भनाइ छ।

 

असोज र कात्तिकमा अटो बजारका ४० प्रतिशतसम्म सवारी बिक्री हुने भएकाले पनि सिजनको मुखमा अटो शोमा सवारी विक्रेतादेखि उपझोक्ताको चासो हुने गरेको नाडाको भनाइ छ । नाडा अटो एक्सपो २०२३ मा विगतमा भन्दा उत्साहजनक रुपमा अटोमोबाइल कम्पनी तथा उपझोक्ताको सहभागीता भएको नाडाको भनाइ छ । प्रदर्शनीमा यस्तो उल्लेख्य र उत्साहजनक सहभागीताबाट अटो बजार चलायमान हुनेमा व्यवसायी सकारात्मक छन्।

पछिल्लो समय सवारीको आयात पनि राम्रो रहेको र सरकारले समेत आयातमा थप सहजीकरण गर्ने मंगलबार उद्घाटनका क्रममा अर्थमन्त्री प्रकाशशरण महतले बताएसँगै अटो व्यवसायी उत्साहित भएको अध्यक्ष थापाको भनाइ छ । अर्थमन्त्री महतले अटोमोबाइल क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको बताउनुभएको छ। मन्त्री महतले विद्युतीय सवारी साधनमार्फत अटोमोबाइल क्षेत्रको कर कम गर्न सकिने संकेत गर्नुभयो।

 

दुई वर्ष कोभिड महामारी र आयात प्रतिवन्धका कारण हुन नसकेको नाडा अटो शोले व्यावसायिक गतिविधि बढाउनेमा नाडा अध्यक्ष थापा विश्वस्त हुनुहुन्छ। काठमाडौंको भृकुटीमण्डप प्रदर्शनीस्थलमा आयोजना भइरहेको अटो शोले सवारी साधनको प्रविधिका बारेमा प्रयोगकर्ताहरुमा एकै थलोमार्फत जानकारी दिँदैछ ।

 

शुरुको दिनमा नै आम उपझोक्ताको बाक्लो उपस्थिति र बुकिङले आगामी दिनमा अटो बजारले गति दिने संकेत गरेको नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले बताउनुभयो। उहाँले भन्नुभयो, ‘साउनदेखि नै सवारीसाधनको आयातमा सुधार आएको थियो। नाडाले चाडपर्वको मुखैमा अटो शो आयोजना गरेको छ । यसले अर्थतन्त्रका सबै क्षेत्रलाई चलायमान बनाउन मद्दत गर्नेछ। अटो क्षेत्रमा सरकारले थप सहजीकरण गरेमा बजारले गति लिन्छ ।’

 

नाडाका सदस्य आकाश गोल्छाले अटो शोले सुस्ताएको अटो बजारलाई चलायमान बनाउन मद्दत पुग्ने बताउनुभयो। तर, मुलुकको समग्र आर्थिक अवस्था सुधार भएपछि मात्र अटो बजार सुधार हुने उहाँको भनाइ छ ।