प्रत्येक मंगलबार गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ उडान कार्यान्वयनमा
2023-09-13 16:03:19cri
Share with:

टिकट बुकिङ खुला गरेको दुई सातापछि नेपाल वायुसेवा निगमले भैरहवा–हङकङ उडानका लागि यात्रु पाएको छ। मंगलबार दुई यात्रु गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङका लागि प्रस्थान गरेका छन्। यही भदौ १२ गतेदेखि उडान भर्ने गरी काठमाडौं ट्रान्जिट भएर भैरहवा–हङकङ र भैरहवा–दिल्लीको लागि टिकट बुकिङ खुला गरिएको थियो। प्रत्येक मंगलबार बिहान भैरहवाबाट उडान हुने तालिका छ। बुकिङ खुला भएपछिको दुई वटा मंगलबार भने भैरहवाबाट हङकङ जाने यात्रु थिएनन्। तेस्रो मंगलबारमात्र काठमाडौं ट्रान्जिट भएर भैरहवा–हङकङ उडान कार्यान्वयनमा आएको कारोबार अनलाइनले जनाएको छ।

भैरहवा–दिल्ली उडानमा भने अघिल्लो मंगलबार एक जना यात्रु थिए। यो मंगलबार भैरहवाबाट दुई हङकङ र तीन यात्रु दिल्ली प्रस्थान गरेका छन्। रुपन्देहीको तिलोत्तमा नगरपालिका नयाँ मिलका विश्व जोशी भैरहवाबाट हङकङ उडान गर्ने पहिलो यात्रु बनेका छन् । मंगलबार बिहान साढे ९ बजे गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेवानिको जहाज हुँदै उनी हङकङ प्रस्थान गरेका हुन्। दुई यात्रु भए पनि टिकट बुकिङ र विमानस्थल प्रवेशको आधारमा जोशी पहिलो यात्रु बनेका छन्।

नेपाल एयरलाइन्सका गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रमुख माधव लोहनीले यात्रु क्रमशः बढ्दै गएको भन्दै यो उडानप्रति आशा जागेको बताउनुभयो। यात्रुलाई यहीँबाट भैरहवासँगै काठमाडौंको पनि बोर्डिङ पास उपलब्ध गराइएको उहाँले जानकारी दिनुभयो। लगेज पनि सिधै हङकङबाटै लिन पाइन्छ । नेपाल एयरलाइन्सको जहाजले गत जेठ ३० गते क्वालालम्पुर–भैरहवा–काठमाडौं उडान सुरु गरेको थियो। प्रत्येक मंगलबार क्वालालम्पुरबाट आएका केही यात्रु भैरहवा झर्छन् भने बाँकी यात्रु काठमाडौं जान्छन्। भैरहवा झरेपछि खाली रहेको सिटमा यात्रु व्यवस्थापन गर्ने गरी नेपाल एयरलाइन्सले काठमाडौं ट्रान्जिट गरी हङकङ र दिल्ली उडान सुरु गरेको हो।