युक्रेनमा हतियार आपूर्ति विषयमा चीनको धारणा
2023-09-13 10:48:05CRI
Share with:


रूसको अनुरोधमा संयुक्त राष्ट्र संघ सुरक्षा परिषदले युक्रेनमा हतियार वितरणको विषयमा एक बैठकको आयोजना गरेको छ। सेप्टेम्बर १२ तारिख आयोजित उक्त बैठकमा चिनियाँ प्रतिनिधिले सैन्य द्वन्द्व युक्रेनको संकट बन्द गर्ने बाटो होइन, वार्ता नै शान्तिको पुनर्स्थापना गर्ने आधारभूत तरिका भएको पुष्टि गर्नुभएको छ।

सो बैठकमा निःशस्त्रीकरण मामिला सम्बन्धि संयुक्त राष्ट्रसंघका उच्चस्तरीय प्रतिनिधि इजुमी नाकामित्सुले युक्रेनको अवस्थाबारे जानकारी दिँदै भन्नुभयोः धेरै देशले युक्रेनलाई सैन्य सहयोग जारी राखेका छन् जसबाट हिंसा चर्कँदै गइरहेको छ साथै हतियार छरपस्ट भएको समस्या पनि निम्त्याइएको छ। कुनै पनि हातहतियार स्थानान्तरण, सम्बन्धित अन्तर्राष्ट्रिय कानुनी प्रारूप तथा सुरक्षा परिषद्को निर्णय-प्रस्तावमा हुनुपर्ने कुरामा उहाँले जोड दिनुभयो। साथै उहाँले युद्धमा क्लस्टर युद्धसामग्रीको प्रयोग भएको रिपोर्ट चिन्ताजनक रहेको पनि व्यक्त गर्नुभयो।

युक्रेनको अवस्थाबारे चर्चा गर्दै संयुक्त राष्ट्रसंघका लागि चीनका उप आवासीय प्रतिनिधि कङ शुआङले यसरी भन्नुभयोः युक्रेनको युद्धभूमिमा ठूलो संख्यामा हतियार र उपकरणहरू भित्रिने क्रममा ती हतियारको विविधता, मात्रा र घातकपन निरन्तर बढ्दै गएकोले सर्वसाधारणमाथिको हताहत बढ्नुकासाथै  परिस्थिति पनि दुष्चक्रमा फसेको छ।

कङ शुआङले अगाडि जोड दिँदै भन्नुभयोः सैन्य मुठभेड युक्रेनको संकटलाई बन्द गर्ने बाटो होइन बरू वार्ता नै शान्ति पुर्स्थापनाको आधारभूत उपाय हो। सम्बन्धित पक्षहरूले अन्तर्राष्ट्रिय समुदायको अपेक्षा र आवाजप्रति सकारात्मक प्रतिक्रिया दिँदै शान्त र संयमित रहेर सहमति खोज्न प्रयास गर्ने अपेक्षा चीनले गरेको छ।