ऊर्जामा अन्तर्राष्ट्रिय लगानी भित्र्याउन निजी क्षेत्रले थाल्यो पहल
2023-09-14 15:51:36cri
Share with:

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले नेपालको ऊर्जा क्षेत्रमा अन्तर्राष्ट्रिय लगानी भित्राउन पहल थालेको छ । बुधबार डच बैंक एफएमओका प्रतिनिधिहरुसँग काठमाडौंमा भएको छलफलमा इप्पान पदाधिकारीहरुले नेपालको ऊर्जा क्षेत्रमा खरबौं डलर लगानी आवश्यक भएको भन्दै सस्तो दरमा दीर्घकालीन ऋण उपलब्ध गराइदिन एफएमओसँग आग्रह गरेको अनलाइनखबरले जनाएको छ।

 

इप्पान अध्यक्ष गणेश कार्कीले वित्तीय व्यवस्थापन गर्न नसकेका कारण २ हजार ६०० मेगावाट क्षमताका जलविद्युत् आयोजनाको सरकारले विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) नै खारेज गरेको स्मरण गराउँदै नेपालको ऊर्जा क्षेत्रमा अथाह लगानीको अवसर भएको बताउनुभयो। ‘सरकारले हालै १२ वर्षमा ३५ हजार मेगावाट विद्युत् उत्पादनको रणनीति लिएको छ । नेपाली बैंकहरुले यी सबै आयोजनाको वित्तीय व्यवस्थापन गर्न सक्दैनन्,’ कार्कीले भन्नुभयो, ‘किनभने अहिले नै २ हजार ६०० मेगावाट क्षमताका आयोजना वित्तीय व्यवस्थापन नभएका कारण सरकारले पीपीए खारेज गरेको अवस्था छ ।’

 

एफएमओका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माइकल जोंजेनीलले नेपालमा जलविद्युत् प्रवर्द्धकले वातावरण, समाज र सरकार (ईएसजी)लाई केन्द्रमा राखेर काम गरेमा नेपालको ऊर्जा क्षेत्रमा एमएफओले ठूलो लगानी भित्र्याउन चाहेको बताउनुभयो। २०१९ देखि इप्पानसँग सहकार्य गर्दै आएको स्मरण गराउँदै उहाँले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएफसी)का मापदण्ड र  ईएसजीलाई केन्द्रमा राखेर काम गर्न इप्पानले ठूलो भूमिका खेल्न सक्ने पनि विश्वास व्यक्त गर्नुभयो।

 

इप्पानका उपाध्यक्ष आशिष गर्गले नेपालको जलविद्युत् उत्पादन र उपयोगको तथ्यांक प्रस्तुत गर्दै आयोजना विकासको विभिन्न चरणमा रहेका ५३ हजार ४३१ मेगावाट क्षमताका १ हजार २२४ आयोजनामा १ खर्ब १३ अर्ब डलर लगानी आवश्यक हुने बताउनुभयो।

 

उहाँले निर्माण भइसकेका करीब २ हजार ९०० मेगावाट क्षमताका १९१ आयोजनामा ५ अर्ब र निर्माणाधिन ७ हजार १०७ मेगावाट क्षमताका १२९ आयोजना (४ हजार २१५ मेगावाट क्षमताका ६ आयोजना विदेश निर्यात हुने) मा ११ अर्ब डलर लगानी भएको बाहेक अझै ९५ अर्ब डलर लगानी थप आवश्यक पर्ने तथ्यांक प्रस्तुत गर्नुभयो।

पीपीए गरेर निर्माणको पर्खाइमा रहेका १२९ आयोजनालाई ५ अर्ब र अध्ययन सकेर पीपीएको पर्खाइमा रहेका ९ हजार ४०० मेगावाट क्षमताका १८५ आयोजनालाई २० अर्ब डलर लगानी तत्कालै आवश्यक भएको पनि उहाँको भनाइ छ ।

त्यस्तै सरकारले ऊर्जा दशक घोषणा गरेर थप ३० हजार मेगावाट विद्युत् उत्पादनको रणनीति बनाइरहेकाले त्यसका लागि थप ६० अर्ब डलर लगानी आवश्यक पर्ने पनि गर्गले बताउनुभयो।

इप्पान उपाध्यक्ष उत्तम भ्लोन लामाले नेपालको बैंक मार्फत वा सोझै विद्युत् आयोजनामा सस्तो ब्याजदरको दीर्घकालिन ऋण लगानी गर्न एफएमओलाई आग्रह गर्नुभयो। एफएमओले एक्लै वा अन्य अन्तर्राष्ट्रिय बैंक तथा वित्तीय संस्थासँग मिलेर संयुक्त रुपमा भएपनि नेपालको ऊर्जा क्षेत्रमा लगानीको नेतृत्व लिन लामाले आग्रह गर्नुभयो।  एफएमओले नेपालमा एनएमबी बैंकमार्फत ५० मिलियन डलर (साढे ६ अर्ब रुपैयाँ भन्दा बढी) ऋण जलविद्युतमा लगानी गरेको छ । त्यस्तै ८२ मेगावाटको तल्लो सोलु जलविद्युत् आयोजनामा जर्मन विकास बैंक र ओपेक फण्ड सहितका संस्थाबाट भएको ८ अर्ब ऋणको नेतृत्व एफएमओले नै गरेको छ भने २१६ मेगावाटको अपर त्रिशूली–१ जलविद्युत् आयोजनामा २ अर्ब रुपैयाँ सिधै ऋण लगानी गरेको छ ।