नेपाललाई माइस पर्यटन गन्तव्य बनाइने
2023-09-14 15:47:55cri
Share with:

नेपाललाई मेला, सभा/सम्मेलन तथा विवाह गन्तव्यका रूपमा स्थापित गर्न कार्यक्रम आयोजना हुने भएको छ । होटल संघ नेपालले मेला, सभा/सम्मेलन र विवाह गन्तव्यको बढ्दो माग परिपूर्तिका लागि कार्ययोजना तयार गर्न आइतबार काठमाडौंमा सरोकारवालाहरूसँग बृहत् कार्यक्रम गर्ने भएको छ ।

 

होटल संघ नेपालको वार्षिक कार्ययोजनाभित्र परेको यस कार्यक्रमले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नेपाल माइस पर्यटनका लागि उपयुक्त गन्तव्यका रूपमा स्थापना गर्न सघाउ पुग्ने संघद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । ‘प्रकृतिले प्रचुर साथ दिएको नेपालमा पर्यटन बढाउन ‘माइस’ पर्यटनको विकास गर्न अपरिहार्य रहेकाले नेपालले विश्वको व्यापारिक समुदायमा अन्तर्राष्ट्रिय सभा सम्मेलन गन्तव्यका रूपमा लोकप्रियता हासिल गर्नेछ,’ विज्ञप्तिमा भनिएको छ ।

 

संघले अन्तर्राष्ट्रियस्तरको मेला, सभा/सम्मेलनसँगै व्यापार व्यवसायको प्रवर्द्धनका लागि विदेश भ्रमणमा पठाउने प्रचलन विश्वव्यापी रूपमा अझ छिमेकका भारत र चीनमा बढ्दै गएको उल्लेख गर्दै बर्सेनि हजारौंको संख्यामा विवाह गर्ने जोडीहरू र उनीहरूको परिवारका सदस्यहरू नेपाल आउने क्रम बढेकाले यसो गर्न लागेको जनाएको छ । यस्ता मेला, सभा/सम्मेलन, गन्तव्य विवाह तथा प्रोत्साहन भ्रमणका कार्यक्रमलाई नेपालको पहाडी तथा तराईका गन्तव्य, प्राकृतिक ट्रेकिङ क्षेत्र र धार्मिक तथा सम्पदा स्थलहरूका विभिन्न प्याकेज बनाई कर्पोरेट कम्पनीहरूलाई आकर्षित गर्न सक्ने सम्भावना प्रबल रहेको छ भने यसका लागि सरकारी नीति नियम, थप पूर्वाधार, जनशक्ति र प्रभावकारी प्रवर्द्धनका कार्यक्रमहरूको आवश्यकता रहेको विज्ञप्तिमा भनिएको कान्तिपुर अनलाइनले खबर सम्प्रेषण गरेको छ ।