भारत र चीनपछि नेपालको तेस्रो ठूलो साझेदार बन्दै संयुक्त अरब इमिरेट्स (यूएई)
2023-09-15 16:09:52cri
Share with:

नेपालको वैदेशिक व्यापारमा छिमेकी भारत र चीनको अग्रता रहे पनि तेस्रो साझेदारका रुपमा संयुक्त अरब इमिरेट्स (यूएई) अघि बढ्न थालेको छ। आयात र निर्यात दुवै व्यापारको शीर्ष स्थानमा भारत रहे पनि चीन भने आयातमा दोस्रो तर निर्यात व्यापारमा चौथो स्थानमा छ।

यूएई आयातमा तेस्रो र निर्यातमा आठौं स्थानमा रहेको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांकमा उल्लेख छ। यसरी नेपालको कुल वैदेशिक व्यापारमा आयात र निर्यात दुवै तथ्यांक जोड्ने हो भने यूएई तेस्रो स्थानमा आउँछ । यसअघि आयाततर्फ तेस्रो स्थानमा इन्डोनेसिया थियो । निर्याततर्फ भने अमेरिका र जर्मनी क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।

केन्द्रका अनुसार चालु आवको साउनमा नेपालले यूएईबाट २ अर्ब ३७ करोड रुपैयाँबराबरको आयात गरेको छ भने १७ करोडको मात्रै निर्यात गरेको छ । यूएईबाट आयातमा ६.७१ प्रतिशतले कमी आए पनि निर्यातमा भने ४४३.४७ प्रतिशतले वृद्धि भएको छ । गत आव २०७९–८० मा नेपालले यूएईतर्फ १ अर्ब ७ करोडको सामग्री निर्यात गरेको थियो भने यूएईबाट ३२ अर्ब २१ करोडको वस्तु आयात गरेको थियो।

 

आव २०७८–७९ मा भने यूएईतर्फ नेपालले ४५ करोड ९६ लाखको निर्यात गरेको थियो । यसरी अघिल्लो आवमा पनि निकासी १३४.९ प्रतिशतले बढेको देखिन्छ । सो आवमा यूएईबाट ४७ अर्ब ९१ करोडको आयात भएको थियो । आयातमा भने गत आवमा ३२.८ प्रतिशतले गिरावट आएको छ । सरकारी अनुमानअनुसार हाल करिब ५ लाख नेपाली रोजगारीका लागि यूएईमा छन् भने त्यहाँबाट वार्षिक २८ करोड ५० लाख अमेरिकी डलर रेमिटेन्स आउने गरेको छ । यूएईबाट नेपाल घुम्न आउने पर्यटकको संख्या भने न्यून छ । सन् २०२२ मा करिब ६ सय पर्यटक नेपाल आएको तथ्यांक छ ।

नेपालबाट यूएईतर्फ ताजा तरकारी, फलफूल, कफी, चिया, अदुवा, गहुँको पिठो, भटमास, पास्ता, कुरमुरे, दालमोठ, नमकिन, मिनरल वाटर, कुकुर तथा बिरालोको खाना अर्थात् डग च्यू, अगरबत्ती, जडिबुटीलगायत वस्तु निकासी हुँदै आएको छ । तरकारी तथा फलफूल अर्गानिकमात्र निकासी हुने यूएईमा नेपाली हस्तकलाका वस्तु पनि निकै रुचाइने गरेको छ । काठको ह्याङ्गर, हाते कागज तथा डायरीहरु, धागो, ऊनी फेल्ट, ऊनी गलैंचा, तयारी पोशाक, पस्मिना सल, काष्ठकलाका वस्तु पनि यूएई निकासी हुने गरेको भन्सार विभागको तथ्यांक छ ।

 

यूएईबाट भने काजुलगायत ड्राइ फ्रुट्स, किबी, छोकडा, कफी, मसला, मकै, ओलिभ तेल, कन्फेक्सनरी, सुँगुरको मासु, चकलेट तथा बिस्कुट, लिक्वर उद्योगका लागि माल्ट, ससलगायत उपभोग्य वस्तु आयात हुँदै आएका छन् ।

 

नेपाल–यूएई उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार अग्रवाल यूएईसँगको व्यापार कैयौं गुणा बढाउन सकिने बताउनुहुन्छ। नेपालमा अर्गानिक तरकारी तथा फलफूल उत्पादन भइरहेको उल्लेख गर्दै उहाँले ती वस्तुको उच्च माग रहेकाले निर्यात गर्न सकिने बताउनुभयो। ‘नेपालमा उत्पादन हुने तरकारी तथा फलफूलमा विषादी एकदमै कम छ, यहाँ अर्गानिक तरकारी उत्पादन गर्न सकिन्छ। यहाँको तरकारी र फलफूल क्यालिफोर्नियाको भन्दा स्वादिलो हुन्छ भने हामीले यूएईको बजार नपाउने कुरै छैन,’ उहाँले भन्नुभयो।

खासगरी नेपालमा उत्पादन हुने स्ट्रबेरी विश्वकै स्वादिलो भनेर यूएईका उपभोक्ताले मन पराएको स्मरण गर्दै उहाँले थप्नुभयो, ‘नेपालमा उत्पादन भएको तरकारी तथा फलफूल यूएई निकासी गर्न त्यति कठिन छैन, हामीले धेरै गर्न सक्छौं ।’

यूएईका लगानीकर्ताका लागि पनि नेपाल राम्रो सम्भावनाको क्षेत्र भएको उहाँको भनाइ छ। कारोबार अनलाइन।