एक महिनामा १६ करोडको सिमेन्ट निर्यात
2023-09-15 16:12:15cri
Share with:

चालु आर्थिक वर्षको पहिलो महिना साउनमा मुलुकबाट १६ करोड ४४ लाख ६५ हजार रुपैयाँ बराबरको २५ हजार ७ सय ४२ टन क्लिंकर निर्यात भएको छ । साउनमै ७ करोड ५ लाख २४ हजार रुपैयाँ बराबरको ९ हजार ५ सय ७३ टन तयारी सिमेन्ट निर्यात भएको भन्सार विभागको तथ्यांक छ । गत आर्थिक वर्षमा ३५ करोड ८९ लाख ५० हजार रुपैयाँ बराबरको सिमेन्ट र ४२ करोडको क्लिंकर निर्यात भएको थियो ।

 

नेपालबाट सिमेन्ट र क्लिंकर भारतमा मात्रै निर्यात भएको विभागको तथ्यांक छ । नेपालले यसअघि पनि ०६९/७० मा सिमेन्ट तथा क्लिंकर निर्यात गरेको थियो । तर दुई आर्थिक वर्षपछि त्यसलाई निरन्तरता दिन सकेको थिएन । पछिल्ला तीन आर्थिक वर्षदेखि फेरि सिमेन्ट निर्यात हुन थालेको हो । आर्थिक वर्ष ०६९/७० मा २ लाख १८ हजार रुपैयाँ बराबरको सिमेन्ट निर्यात गरेको थियो । भारतबाटै कच्चा पदार्थ ल्याई तयारी सिमेन्ट निर्यात गर्दा लागत महँगो र उद्योग आत्मनिर्भर नहुँदा निकासीले निरन्तरता पाउन नसकेको र अहिले सरकारले सिमेन्ट निर्यातमा अनुदान दिनेलगायत व्यवस्था र उद्योग पनि आत्मनिर्भर भइसकेकाले निर्यात सुरु भएको सरोकारवालाको दाबी छ ।


झन्डै एक दशकअघि पनि आरएमसी सिमेन्टले भारतको सीमावर्ती बजारमा पोर्टल्यान्ड स्ल्याग (पीएससी) सिमेन्ट निर्यात गरेको थियो । ०७०/७१ मा ५६ लाख ५९ हजार रुपैयाँ बराबरको ५ लाख ४५ हजार १ सय ५० किलो सिमेन्ट निर्यात भएको थियो । ०७१/७२ मा ६० हजार २ सय रुपैयाँ बराबरको ५ हजार ५ सय २५ किलो सिमेन्ट मात्र निर्यात भएको विभागको तथ्यांक छ । पछिल्ला वर्षमा पाल्पा सिमेन्टको ‘तानसेन’ र अर्घाखाँची र बालाजी ब्रान्डका सिमेन्ट भारतमा निर्यात हुन थालेका छन् । पहिला भारतबाटै कच्चा पदार्थ ल्याई तयारी सिमेन्ट पुनः भारत पठाउँदा लागत मूल्य बढेकाले व्यवसायीले निर्यातलाई निरन्तरता दिन नसकेका थिएनन् ।


एक दशकअघि नै सिमेन्ट निर्यात सुरु भए पनि त्यो ‘ट्रायल’ मात्रै रहेको नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले बताउनुभयो । गत वर्षदेखि औपचारिक रूपमा निर्यात सुरु भएकाले यसपालि ४ अर्बसम्मको निर्यात हुने आँकलन उहाँको छ । उत्पादन लागत कम गर्न सरकारले सहुलियत दिएको खण्डमा योभन्दा धेरै निर्यात हुन सक्ने संघले जनाएको छ ।


आर्थिक वर्ष ०७८/७९ १२ लाख ९३ हजार रुपैयाँ बराबरको १५ हजार १ सय ८९ टन र ०७७/७८ मा ८३ हजार रुपैयाँ बराबरको ११ टन सिमेन्ट निर्यात भएको विभागको तथ्यांक छ । मुलुकमा ६५ सिमेन्ट उद्योग छन् । सिमेन्टको माग कम भएर उत्पादन कटौती गरेका कारण ९० प्रतिशतभन्दा बढी सिमेन्ट उद्योग अस्थायी रूपमा बन्द भएका छन् । मुलुकमा सिजनमा ७० लाख र अफसिजनमा ३० लाख टन मात्र सिमेन्ट उत्पादन हुने गरेको छ । अफ सिजनकै समयमा पनि गत वर्ष २० प्रतिशत क्षमतामा सञ्चालन भएको उद्योग अहिले १० देखि १५ प्रतिशत क्षमतामात्रै सञ्चालन भइरहेको संघका अध्यक्ष थापाले सुनाए । चालु आर्थिक वर्ष साउनदेखि क्रमशः सिमेन्टको माग घट्दै गएको छ । सरकारले निर्यातमा अनुदान प्रदान गर्नेसम्बन्धी (दोस्रो संशोधन) कार्यविधि, २०७९ मा सिमेन्टमा करिब ८ प्रतिशतसम्म निर्यात अनुदान दिने व्यवस्था गरेको छ ।


चालु आर्थिक वर्षका लागि सरकारले ‘स्वदेशी सिमेन्टको आन्तरिक खपत बढाउन पक्की सडक निर्माण गर्दा निश्चित मापदण्डका आधारमा ढलान गर्ने प्रविधि अवलम्बन गरिने’ व्यवस्था अघि सारेको छ । ‘यसबाट टिकाउ र गुणस्तरीय सडक निर्माण हुने तथा बिटुमिन (अलकत्रा) को आयात घट्ने विश्वास लिएको छु,’ अर्थमन्त्री प्रकाशशरण महतले वक्तव्यमा उल्लेख गर्नुभएको छ। सिमेन्ट उद्योगी व्यवसायीले लामो समयदेखि माग गर्दै आएको मुद्दालाई सरकारले अघि सार्दै आएको छ । तर चालु आर्थिक वर्षको बजेट आएको तीन महिना बितिसक्दा पनि ढलान गर्ने प्रविधिबारे कार्यविधि बनेको छैन ।