लगानी बढाउन चिनियाँ लगानीकर्ताहरूलाई नेपाली व्यवसायीको आग्रह
2023-09-15 16:08:50cri
Share with:

नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानी बढाउन चिनियाँ निजी क्षेत्रलाई आग्रह गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणअघि चेम्बरले चिनियाँ निजी क्षेत्रसँग दुई पक्षीय आर्थिक एवं व्यापारिक सम्बन्धबारे छलफल गरेको हो । चेम्बरमा आयोजित कार्यक्रममा अध्यक्ष राजेन्द्र मल्लले नेपालको जलविद्युत, कृषि, सूचना प्रविधि, पूर्वाधार विकासलगायतका क्षेत्रमा लगानी गर्न चिनियाँ निजी क्षेत्रलाई आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, ‘नेपाल–चीनबीचको सम्बन्ध कूटनीतिक र आर्थिक दृष्टिकोणले निकै महत्वपूर्ण छ । पछिल्लो समय चिनियाँ लगानी आउने क्रम पनि उच्च छ, खास गरी उत्पादन वृद्धि, रोजगारी सिर्जना गर्ने महत्वपूर्ण परियोजनामा लगानीका लागि आग्रह गर्छु ।’

लगानीका लागि हुने नीतिगत कठिनाइ अन्त्यका लागि सरोकारवाला सरकारी निकायमा नेपाल चेम्बरले पहल गर्ने अध्यक्ष मल्लले बताउनुभयो। उहाँले नेपाल–चीनबीचको व्यापार सम्झौतालाई समयसापेक्ष पुनरावलोकन गरेर व्यापार सहजीकरण गर्नुपर्नेमा जोड दिनुभयो।

नेपाल–चीनबीच यसअघि भएको पारवहन सम्झौताको प्रभावकारी कार्यान्वयन एवं उत्तरी छिमेकीसँगको सीमामा सुविधासम्पन्न सडक पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिँदै मल्लले भन्सार नाकाहरूमा अन्तर्राष्ट्रिय स्तरको क्वारेन्टिन ल्याब राखेर नेपालको निर्यात वृद्धि गर्नुपर्ने बताउनुभयो। नेपालबाट चीनमा वार्षिक २ खर्व रुपैयाँ हाराहारीमा निर्यात सम्भावना रहेको विभिन्न अध्ययनले देखाएको भन्दै त्यसको लाभ लिनुपर्नेमा अध्यक्ष मल्लको जोड थियो।

प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा दुई मुलुकबीच ब्यापार सहजीकरण गर्ने विषयलाई उच्च प्राथमिकतामा राख्ने गरी चेम्बरले सुझाव दिएको कारोबार अनलाइनले जनाएको छ। चेम्बरसँगको छलफलमा चिनियाँ निजी क्षेत्रका प्रतिनिधिले नेपालमा लगानीका लागि भइरहेको नीतिगत कठिनाइबारे जिज्ञासा राखेका थिए।