विद्युतीय गाडीमा बढ्दो आकर्षण
2023-09-16 16:22:14cri
Share with:

भृकुटीमण्डपमा चलिरहेको ‘नाडा अटो सो’ मा विद्युतीय गाडीप्रति आकर्षण बढेको छ। प्रदर्शनीमा राखिएका गाडीहरूमध्ये पेट्रोल र डिजेलबाट चल्नेभन्दा विद्युतीय गाडीको सङ्ख्या धेरै छ। बुकिङ गर्नेहरूले पनि विद्युतीय गाडी नै धेरै रोजेका छन्। १४ देखि ३० लाख रुपियाँसम्मका विद्युतीय कारमा उपभोक्ताको आकर्षण देखिएको आयोजक नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाललाई उद्धृत गर्दै गोरखापत्र अनलाइनले खबर छापेको छ।

 

प्रदर्शनीमा १३ लाख रुपियाँको सेरेस ब्रान्डको विद्युतीय कारको बुकिङ बढी भएको छ। प्रदर्शनीको तीन दिनमै १८८ वटा सेरेस इभी बुकिङ भइसकेको छ। बिवाईडी, एमजी, नेटा, वुलिङलगायत ब्रान्डले विद्युतीय सवारी मात्रै प्रदर्शनीमा राखेका छन्। कतिपय ब्रान्डले पेट्रोलियम गाडीलाई भन्दा विद्युतीयलाई नै प्राथमिकता दिएका छन्।

 

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुवबहादुर थापाले विद्युतीय गाडीको माग धेरै भएको बताउनुभयो । उपोभोक्तामा विद्युतीय गाडीप्रति आकर्षण बढेको बताउँदै उहाँले भन्नुभयो, “माग र चासो बढेकाले विद्युतीय गाडीहरू नै नाडामा बढी छन् । उपभोक्ताको पनि विद्युतीय सवारीमै चासो बढी छ । कारोबारका हिसाबले विद्युतीय र इन्धनको आधाआधी छ । पहिला विद्युतीय गाडीको यसरी माग थिएन।” एसोसिएसनका अनुसार प्रदर्शनीमा करिब ६० प्रतिशत स्टल विद्युतीय गाडीका छन्। अध्यक्ष थापाले भन्नुभयो, “विद्युतीय कार चढ्ने विश्वव्यापी ट्रेन्ड नेपालमा पनि बढेको देखिन्छ । विद्युत्को उपयोगसँगै सञ्चालन तथा मर्मत खर्च कम र वातावरणमैत्री भएकाले विद्युतीय सवारीसाधनको माग बढेको छ ।”

 

सरकारले पनि विद्युतीय सवारीलाई प्रोत्साहन गरिरहेको उहाँको भनाइ छ । प्रदर्शनीमा एमएडब्लु वृद्धि अटोकर्प प्रालिले नेपाली बजारमा ल्याएको सेरेस कार सस्तो मानिएको छ । चार वटा भेरियन्टमध्ये तीन वटा कारको मूल्य १३ लाखदेखि १८ लाख रुपियाँसम्म पर्छ । चार सिटको सेरेस मिनी इभीको मूल्य १३ लाख ९९ हजार रुपियाँ तोकिएको छ । चार सिटको सेरेस मिड इभी कारको मूल्य १६ लाख ४९ हजार रुपियाँ छ । सेरेस टप इभीको मूल्य भने १७ लाख ९९ हजार रुपियाँ छ।

 

टाटा मोटर्सले प्यासेन्जर सेग्मेन्टमा तीन वटा गाडी ल्याएको छ । टियागो इभीको मूल्य २१ लाख ९९ हजार रुपियाँ छ । टियागो इभी एमआर (मेडियम रेन्ज) एक्सटीको मूल्य २२ लाख ९९ हजार छ । टियागो इभी लङ रेन्ज (एलआर) एक्सटीको मूल्य भने २५ लाख ४९ हजार रुपियाँ छ । टियागो इभी एलआर एक्स जेड प्लसको मूल्य २६ लाख ९९ हजार र टियागो इभी एलआर एक्स जेड प्लस लक्जरीको मूल्य २७ लाख ९९ हजार रुपियाँ रहेको छ । पिटी एसजिएमडब्लु मोटर्स इन्डोनेसियाले उत्पादन गरेको विलिङ एयर इभीको मूल्य २० लाख ९९ हजार रुपियाँ छ।

 

पारामाउन्ट मोटर्स प्रालिले १८ लाख र २१ लाख रुपियाँका दुई वटा कार प्रदर्शनीमा राखेको छ । एमजी कोमेट इभी पिसको मूल्य १७ लाख ९९ हजार रुपियाँ रहेको छ । एमजी कोमेट इभी प्ले काको मूल्य २० लाख ९९ हजार रुपियाँ छ । प्रदर्शनी भदौ ३१ सम्म सञ्चालन हुने छ । प्रदर्शनीको चौथो दिनसम्म ३७ हजारले अवलोकन गरेका छन् ।