राष्ट्रसंघमा शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन सहयोगको अपिल गर्ने प्रधानमन्त्रीद्वारा जानकारी
2023-09-16 16:23:09cri
Share with:

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघमा नेपालको शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउने विषयमा सहयोगको अपिल गरिने बताउनुभएको छ।

राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन प्रधानमन्त्री शनिबार साँझ अमेरिका प्रस्थान गर्दैगर्दा यस्तो धारणा राख्नुभएको हो।  

 

त्यसअघि (शनिबार) बिहान माओवादी नेता पोष्ट बहादुर बोगटीको नवौं स्मृति दिवसका अवसरमा नेकपा माओवादी केन्द्रीय कार्यालय (पेरिसडाँडा) मा आयोजित कार्यक्रममा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्नाका निम्ति अन्तर्राष्ट्रिय समुदायको सहयोग आवश्यक पर्ने बताउनुभएको थियो।

‘संयुक्त राष्ट्रसंघमा हुँदा पनि नेपालको राष्ट्रिय हित, खासगरी योपटक अलि बढी नै हामीले त्यहाँ आफ्ना कुरालाई अपिल गर्नुछ अन्तर्राष्ट्रिय समुदायको अगाडि’, उहाँले भन्नुभयो, ‘एउटा त हामीले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनका निम्ति इन्टरनेसनल कम्युनिटीको सहयोग चाहियो र नेपाल एउटा यस्तो उदाहरण बन्न चाहन्छ, सफल उदाहरण बन्न चाहन्छ भन्ने कुराको अपिल गर्नुछ।’ 

 

नेपालखबर अनलाइनका अनुसार शान्ति प्रक्रियाअन्तर्गत माओवादी लडाकु समायोजन र हतियार व्यवस्थापन भइसकेको छ भने अब टुंगो लाग्न बाँकी संक्रमणकालीन न्यायसम्बन्धी बेपत्ता नागरिक खोजबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी) मात्रै छ। दोस्रोमा जलवायु परिवर्तनले नेपालमा पारेका असरबारे कुरा राख्ने उहाँले बताउनुभयो।

 

यसैबीच  प्रधानमन्त्री दाहालले आगामी असोज ४ गते महासभालाई सम्बोधन गर्ने  कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। विश्व समुदायको विश्वास पुनः जागृत गर्ने तथा शान्ति, समृद्धि र सबैको दिगोपनाका निम्ति दिगो विकासका लक्ष्य हासिल गर्ने ऐक्यबद्धताबारे उनले मन्तव्य दिने कार्यक्रम रहेको छ। आगामी आसोज २ गते राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा प्रधानमन्त्री दाहाल सहभागी हुने योजना छ।

 

न्युयोर्कमा रहँदा दाहालले संयुक्त राष्ट्रसङ्घको दिगो विकास र जलवायुसम्बन्धी शिखर सम्मेलनलगायत कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ। उहाँले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेससँग भेटवार्ता गर्नुका साथै विभिन्न देशका आफ्ना समकक्षीसँग भेट गर्ने मन्त्रालयले जनाएको छ ।

 

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी छोरी गङ्गा दाहाल, परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौड्याल र मन्त्रालयका अन्य वरिष्ठ अधिकारी छन्।