टोखा–छहरे सुरुङ मार्ग निर्माणमा चिनियाँ सरकार सकारात्मक : अर्थमन्त्री डा. महत
2023-09-17 16:03:49cri
Share with:

अर्थमन्त्री डा. प्रकाशशरण महतले टोखा–छहरे सुरुङ मार्ग निर्माणका लागि चिनियाँ सरकार सकारात्मक रहेको बताउनु भएको छ। लिखु महिला उद्यमी तथा सामाजिक संस्थाले शनिबार आयोजना गरेको तीज शुभकामना कार्यक्रममा बोल्दै मन्त्री डा. महतले भन्नुभयो, ‘यो परियोजनालाई अगाडि बढाउन मैले एक अर्ब रुपियाँ बजेट विनियोजन गरेको छु । यद्यपि यसका लागि धेरै पैसा लाग्छ। हाम्रो श्रोतले नपुग्न सक्छ, यो परियोजना निर्माणका लागि हामीले  चिनियाँ सरकार समक्ष प्रस्ताव पठाएका छौं । उहाँहरुबाट सकारात्मक जवाफ आएको छ।’

 

गोरखापत्र अनलाइनका अनुसार पत्रको आदान–प्रदान भइसकेको छ। यसको अर्थ आयोजना अगाडि बढ्छ भन्ने हो। प्रधानमन्त्री पुष्पकमल दाहाल चीन जाँदै गर्दै परियोजनाको तयारीमा जुटेकाले प्रधानमन्त्रीको भ्रमणको सिलसिलामा यो आयोजना पहिलो प्राथमिकतामा राखेका आसयको पत्र चीन सरकारले दिएको छ।  


प्रारम्भिक अध्ययन भइसकेको जानकारी दिनुहुँदै मन्त्री डा. महतले भन्नुभयो, ‘अब थप डिपिआरसहितको अध्ययन भएपछि निर्माण प्रकृया अगाडि बढ्छ । सुरुङमार्गको अध्ययन महत्वपूर्ण पक्ष हो । धेरै पक्षमा ध्यान पुराउनु पर्ने भएकाले अध्ययन सबैभन्दा जटिल र महत्वपूर्ण छ । अध्ययन सकिने वित्तिकै सुरुङमार्गको काम अगाडि बढ्छ ।’


‘निर्माणको काम भौतिक मन्त्रालयले, श्रोत जुटाउने काम अर्थमन्त्रालय र वातावरणसम्बन्धी के असर पर्छ भनेर अनुमति लिने काम वन मन्त्रालयबाट भएको जानकारी दिनु हुँदै उहाँले भन्नुभयो, ‘यहाँ तिनवटै मन्त्रालयले आएर हेरेको छ। निकुन्जमा पनि समस्या छैन भन्ने कुरा आएको हुनाले निर्माण कार्य अगाडि बढ्छ।’

 

सडक सञ्जाल सदरमुकाम विदुरसम्म मात्र होइन, रसुवा नाकासम्म स्तरोन्नति हुन्छ। पृथ्वी राजमार्गको ट्राफिक र अन्तर्राष्ट्रिय व्यापारका लागि यही बाटो सबैभन्दा छोटो हुने मन्त्री डा. महतले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यसले नुवाकोट जिल्लाभरि नै आर्थिक गतिविधि बढ्छ, रोजगारी सिर्जना हुन्छ, व्यापार बढ्छ। पर्यटक बढ्छन्, कृषिजन्य उत्पादन बढ्छ । यसले नागरिकको आम्दानी बढाउने छ। हामीले खोजेको त्यही हो ।’


यी आयोजना निर्माण हुँदा सबैभन्दा बढी प्रभाव लिखु गाउँपालिकामा पर्ने उहाँले बताउनुभयो । त्यसपछि शिवपुरी र पञ्चकन्या गाउँपालिकामा पनि पर्छ । उहाँले भन्नुभयो, ‘ढिकुरे र सिम्ला सिँचाइ आयोजना अर्को महत्वपूर्ण पक्ष हो । यो आयोजना बनेको धेरै भयो । पटक पटक मर्मत भयो । पुनः मर्मतका लागि यसपटक पुग्ने गरी बजेट विनियोजन भएको छ । गंगटेदेखि समुद्रटार हुँदै गोल्फु भन्जाङसम्मको बाटोलाई पूरा गर्ने लक्ष्यका साथ हामीले ठेक्का प्रकृया अगाडि बढाइसकेका छौं । यो कार्यान्वयन भएपछि यातायातमा सुधार हुन्छ ।’


कार्यक्रममा उहाँले भन्नुभयो, ‘काठमाडौंसँग जोडिएको नुवाकोट जिल्ला डा. रामशरण महत अर्थमन्त्री भएपछि विकासमा जोडिएको बताउनु भयो । यहाँको स्कुल, अस्पताल र सिँचाइको सञ्जाल निर्माण भयो । त्यसपछि नुवाकोटवासीले उन्नति र प्रगति गर्ने अवसर पाए । हजारौं नुवाकोटवासीले रोजगारीमा अवसर पाए । यसलाई हामी निरन्तरता दिन चाहन्छौं ।’


‘म ऊर्जा वा परराष्ट्रमन्त्री हुँदा नुवाकोटलाई कसरी समृद्ध बनाउने, यहाँको जनजीवनलाई कसरी माथि उठाउने भनेर काम गर्दै आएको छु । अहिले सबै ठाउँमा बिजुली पुगेको छ । मध्य पहाडी राजमार्ग नुवाकोट हुँदै जान्छ’ मन्त्री डा. महतले भन्नुभयो, ‘चीनसँग जोडिने रसुवागढी नाकाबाट काठमाडौं जोड्ने सडकलाई स्तरोन्नति गर्ने र छहरे–टोखा सुरुङ मार्गमार्फत् अन्तर्राष्ट्रिय व्यापारलाई सहज बनाएर नुवाकोटलाई काठमाडौं नजिक पुराउने योजना छन्।’