डेढ करोडको प्लाइउड भारत निर्यात
2023-09-17 16:07:41cri
Share with:

नेपालगन्ज नाकाबाट एक महिनामै डेढ करोड रुपियाँको प्लाइउड भारत निर्यात गरिएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को साउन महिनामै एक करोड ४६ लाख मूल्य बराबरको २५ हजार चार क्युबिक मिटर प्लाइउड भारत निर्यात गरिएको हो।

 

सरकारले निर्यातलाई प्रोत्साहन गर्न अनुदानको कार्यक्रम राखेपछि नेपालगन्ज नाका हुँदै प्लाइउडको निर्यात बढेको छ। गत आवको साउन महिनामा ५३ लाख रुपियाँको प्लाइउड भारत निर्यात भएकामा चालु आवको सोही अवधिमा त्यसको करिब तीन गुणा बढी निर्यात भएको छ।

 

शिखर प्लाइउड उद्योगका प्रबन्ध निर्देशक चम्पालाल बोथराले सरकारले प्रोत्साहन गरेपछि प्लाइउड उद्योगको निर्यात बढेको जनाउँदै यसले उद्योगी व्यवसायीलाई निर्यात व्यापारका लागि निकै उत्साहित बनाएको बताउनुभयो।

 

कोहलपुर नगरपालिका–१४, हवल्दारपुरमा रहेको बोथराको शिखर प्लाई उद्योगले भारतका विभिन्न सहरमा नेपाली प्लाइउड बिक्री गरिरहेको छ । बाँकेका अन्य उद्योगले पनि भारतको लखिमपुर र लखनउमा प्लाइउड बेचिरहेका छन् । वन डिभिजन कार्यालयबाट स्वीकृति पाएपछि ट्रान्जिट परमिट लिएर प्लाइउड भारत निर्यात हुँदै आएको छ ।


उद्योगी बोथराका अनुसार विगतमा नेपाली प्लाई उद्योगलाई आवश्यक पर्ने सम्पूर्ण कच्चा पदार्थका लागि भारतमा निर्भर रहनुपर्ने अवस्था रहेकामा पछिल्लो समयमा नेपालमै कच्चा पदार्थको उत्पादन हुन थालेकाले सहज भएको छ । नेपाली कच्चा पदार्थबाट उत्पादन भएको प्लाई भारतमा निकै मन पराउन थालिएकाले निर्यात बढ्दै जाने उद्योगीको भनाइ छ ।


प्लाइउड उत्पादक सङ्घका पूर्वअध्यक्षसमेत रहनुभएका उद्योगी बोथराले नेपाली उत्तिसको प्लाइउडको भारतमा उच्च माग रहेको जनाउँदै अब नेपालमा कच्चा पदार्थका लागि किसानलाई रुख लगाउन प्रोत्साहित गर्नुपर्ने बताउनुभयो ।

 

नेपालगन्ज भन्सार कार्यालयका अनुसार गत आव २०७९/८० मा नेपालगन्ज नाकाबाट १४ करोड मूल्य बराबरको २१ लाख क्युबिक मिटर प्लाइउड भारत निर्यात भएको थियो । चालु आव २०८०/८१ को पहिलो महिनामै डेढ करोडको निर्यात भएपछि यो वर्ष गत वर्षभन्दा दोब्बर बढीले निर्यात वृद्धि हुने अनुमान भन्सार कार्यालयले गरेको छ।