कर्णाली प्रदेशको मुगुबाट उत्तरी छिमेकी चीनको नाका खुल्ने आशा
2023-09-17 16:05:34cri
Share with:

कर्णाली प्रदेशको मुगुबाट उत्तरी छिमेकी मुलुक चीनको नाका खोल्न माग गरिएको छ। कर्णालीको आर्थिक, सामाजिक तथा व्यापारिक गतिविधिलाई बढाउने उद्देश्यका साथ मुगुको मुगुम कार्मारोङ गाउँपालिकाबाट चीनको तिब्बत जोड्ने नाक्च्या भञ्ज्याङ नाका खोल्न माग गरिएको हो।

 

जुम्लाकी प्रतिनिधि सभा सांसद छिरिङ ल्हामु तामाङले मुगुबाट चीन जोड्ने नाका खोल्न प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष माग गर्नुभयो। बिहीबार दाहाललाई ज्ञापनपत्र बुझाउँदै उहाँले कर्णालीको आर्थिक, भौतिक, रोजगारी प्रवर्द्धन तथा विकास र व्यापारिक गतिविधि बढाउन उक्त नाका खोल्न माग गर्नुभएको हो। कर्णालीलाई चीनको तिब्बत जोड्ने कार्मारोङ गाउँपालिकाको नाक्च्या भञ्ज्याङ नाका निकै छोटो पर्ने र कर्णालीले चीनबाट लाभ लिन सक्ने सम्भावना रहेकोले खोल्न जोड दिइएको हो।


चीन भ्रमणकै अवसरमा मुगुको कार्मारोङ गाउँपालिकाबाट पैदल हिँडेर ५-६ घण्टामा पुगिने गरी सीमा जोडिएको नाक्च्या भञ्ज्याङ नाकालाई पूर्ण रुपले सञ्चालनमा ल्याउन माग गरिएको सांसद तामाङले बताउनुभयो। उहाँले भन्नुभयो, ‘चीन सरकारसँग अन्तरदेशीय यातायात तथा व्यापार सम्झौता र सहकार्य गर्नुपर्नेमा विषयमा पनि ज्ञापनपत्रमा उल्लेख गरेको छु। नाक्च्या भञ्ज्याङ नाका कर्णाली र चीन जोड्ने सबैभन्दा छोटो बाटो हो । यो नाका खुलेको खण्डमा कर्णालीको विकासले गति लिने आशा छ।’

 

कारोबार अनलाइनका अनुसार नाक्च्या भञ्ज्याङ हुँदै कर्णाली आउजाउ गर्नसमेत अत्यन्तै छोटो दूरी भएकोले मानसरोवर, छायाँनाथ, राराताल लगायतका क्षेत्रमा चिनियाँ पर्यटकको आगमन वृद्धि गर्न सकिने सम्भावना छ । ज्ञापनपत्रमा भनिएको छ, ‘नाक्च्या भञ्ज्याङ कर्णालीकै समृद्धिको ढोका बन्न सक्छ । चीन भ्रमणका क्रममा कर्णालीको विकाससँगै यो नाका खुलाउने विषयमा प्रधानमन्त्रीको विशेष ध्यानाकर्षण गरिएको छ । कर्णालीको आर्थिक सामाजिक तथा भौतिक पूर्वाधार विकासमा टेवा पुर्याउन र रोजगारी सिर्जना गर्न पनि विशेष जोड दिन हाम्रो माग छ । कर्णालीको जनजीवनसँग जोडिएको विषयमा प्रधानमन्त्रीले महत्व दिने विश्वास छ।’ ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री दाहालले कर्णालीका नाका खोल्ने, आर्थिक सामाजिक विकास, रोजगारी सिर्जना, पूर्वाधार विकास, व्यापार लगायतका विषयमा नेपालका महत्वको सबै एजेण्डा गहन रुपमा प्रस्तुत गर्ने बताएको सांसद तामाङले जानकारी दिनुभयो।


प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर असोज ५ गते चीन प्रस्थान गर्ने कार्यक्रम रहेको छ। गत जेठमा भारत भ्रमण गरेसँगै चीन भ्रमणको हतारो गरेका दाहाल चिनियाँ पक्षले समय नदिँदा चीन भ्रमणमा जानुभएन। १९ औं एसियाली खेलकुदको छेको पारेर दाहाल न्युयोर्कबाट सिधै चीन भ्रमणमा जान लाग्नुभएको हो।

 

चीन भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले पर्याप्त छलफल गरेर द्विपक्षीय सहयोग, साझेदारी र समझदारीका विषयहरु उठाउनुपर्ने भए पनि त्यसको कुनै तयारी देखिँदैन। प्रधानमन्त्री दाहालले बिहीबार संसद् बैठकलाई सम्बोधन गर्दै आफ्नो भ्रमणका क्रममा द्विपक्षीय सम्झौतालाई कार्यान्वयन र आपसी हितका विषयमा छलफल हुने जानकारी गराउनुभयो। प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई राजधानी बेइजिङमा नभएर एसियाली खेलकुद आयोजना हुने सहर हाङचौमा भेट गर्ने कार्यक्रम तय भएको छ। त्यसपछि चिनियाँ समकक्षी लि खछ्याङलाई भेट्न बेइजिङ जाने र त्यसपछि तिब्बतमा भइरहेको प्रगति अवलोकन गरेर स्वदेश फर्किने कार्यक्रम रहेको छ।