नेपाली तीजमा विदेशी महिलाको नृत्य
2023-09-18 15:48:31cri
Share with:

 

 

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज सोमबारदेखि देवाधिदेव महादेवको पूजा आराधना गरी मनाइँदै छ। हरितालिका (तीज)मा पशुपतिमा महिलाहरूको भीड लागेको छ। भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ। बिहानैदेखि  पूजापाठ गर्न पशुपतिलगायतका मठमन्दिरहरूमा हिन्दु महिलाहरूका भीड लागेका अनलाइन खबरले लेखेको छ। 

हरितालिका तीजमा स्वदेशी मात्र नभइ विदेशी महिलाहरु पनि रमाएका छन्। पशुपतिनाथ मन्दिर परिसरमा सोमबार विदेशी महिलाहरुले तीज गीतमा कम्मर मर्काए।

राता कुर्ता-सुरुवालमा सजिएका उनीहरु तीज गीतमा केहीबेर नाचेर नेपाली व्रतालु महिलाहरुलाई साथ दिए। आफूहरुसँगै विदेशी महिलाहरु पनि नाच्न थालेपछि नेपाली महिलाहरुले झन् रमाइलो मान्दै उनीहरुलाई नाच्न हौसाएका थिए।

तीजको अवसरमा पशुपति नाथ मन्दिरमा पूजा गर्ने र नाचगान गर्नेहरुको बिहानैदेखि घुइँचो छ। उनीहरु पूजापछि नाचगान गर्दै रमाइरहेका छन्।

नेपालमा मनाइने कतिपय चाडबाडहरु सबै धर्म र सम्प्रदायहरुले आपसमा मिलेर रमाइलो गर्ने गरेका छन्। नेपाली चाडबाडले मनोरञ्जनमात्र नभइ आपसी सदभाव र एकताको सन्देश पनि दिने गरेका छन्।

सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ। वरदानविपरीत पार्वतीका पिता हिमालयले पार्वतीको इच्छाविपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाइन्। 

पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए। साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रूपमा प्राप्त गरिन्। यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयको दिन भएकाले त्यही समयदेखि हरितालिका (तीज) को व्रत लिने प्रचलन सुरु भएको धर्म शास्त्रीय मत छ। संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुई वटा शब्द मिलेर हरितालिका शब्द बनेको छ। जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ।

सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्री महादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ।