एसडीजी शिखर सम्मेलनमा नेपालका प्रधानमन्त्रीको सम्बोधन
2023-09-19 15:37:49cri
Share with:

संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा सञ्चाचालन भइरहेको एसडीजी शिखर सम्मेलनमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्नु भएको छ। विश्वका अतिकम विकसित देशहरुको समूहका अध्यक्षको रुपमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अतिकम विकसित देशहरुका पक्षमा अन्तर्राष्ट्रिय समुदायले यसअघि गरेको प्रतिबद्धता कार्यान्वयन हुनुपर्ने बताउनु भएको अनलाइन खबरले लेखेको छ।

उहाँले एसडीजी प्रोत्साहन प्याकेजमार्फत अतिकम विकसित राष्ट्रलाई सहयोग गर्न, ऋण सङ्कटलाई सम्बोधन गर्न र समयमै समन्वित र उपयुक्त ऋण समाधान उपलब्ध गराउन पनि आग्रह गर्नुभयो। प्रधानमन्त्री प्रचण्डले कोभिड-१९ महामारी, जलवायु परिवर्तन र भूराजनीतिक तनाव जस्ता विश्वव्यापी सङ्कटहरूले अतिकम विकसित देशहरुको प्रगतिलाई थप जोखिममा धकेलिरहेको उल्लेख गर्दै यसबाट उम्कन उद्धार योजना जरुरी रहेको बताउनुभयो।

सन् २०२१ को तुलनामा सन् २०२२ मा अल्पविकसित देशहरुमा विदेशी प्रत्यक्ष लगानीको प्रवाह लगभग ३० प्रतिशतले घटेको उल्लेख गर्दै उहाँले यसबाट पूर्वाधार, नवीकरणीय ऊर्जा, खानेपानी तथा सरसफाइ, खाद्य सुरक्षा, स्वास्थ्य र शिक्षामा लगानीलाई ठूलो धक्का लागेको तथा बाह्य ऋणले संकटको जोखिम बढाएको औँल्याउनुभयो।

प्रधानमन्त्री प्रचण्डले अतिकम विकसित देशहरुले स्वदेशी स्रोत र संस्थालाई सुदृढ र परिचालन गर्ने अधिकतम प्रयास जारी राखेको बताउँदै दिगो विकास लक्ष्य हासिल गर्न एक्लो प्रयासले मात्रै नपुग्ने बताउनुभयो।

उहाँले यसका लागि अन्तर्राष्ट्रिय समुदायको समर्थन र प्रतिबद्धता गरेको दोहा कार्ययोजनालाई स्वीकार गर्न आग्रह गर्नुभयो।