काठमाडौँ महानगरद्वारा एक अर्ब सत्र करोड राजस्व सङ्कलन
2023-09-20 16:09:43cri
Share with:

काठमाडौँ महानगरले चालु आर्थिक वर्षको दुई महिना (साउन–भदौ) मा सवा एक अर्ब राजस्व सङ्कलन गरेको छ। महानगरले विभिन्न शीर्षकमा गरेर एक अर्ब १७ करोड १३ लाख ७५ हजार रुपियाँ राजस्व सङ्कलन गरेको हो। अघिल्लो वर्ष सो अवधिमा ९३ करोड ४१ लाख ३८ हजार रुपियाँ राजस्व सङ्कलन गरेको गोरखापत्र अनलाइनले लेखेको छ। 

अघिल्लो वर्षको तुलनामा २४ करोड रुपियाँ राजस्व सङ्कलन वृद्धि भएको महानगरले जनाएको छ। चालु आवको साउन महिनामा ६५ करोड ४२ लाख ३० हजार रुपियाँ राजस्व सङ्कलन भएको थियो। 

महानगरले सबैभन्दा धेरै घर बहाल कर, सम्पत्ति कर, व्यवसाय रजिस्टे«ेसन दस्तुरबाट राजस्व सङ्कलन गरेको छ। भदौ महिनासम्म सम्पत्ति करबापत २५ करोड ३१ लाख २५ हजार रुपियाँ सङ्कलन गरेको छ। यस्तै भूमि कर/मालपोत करबापत ३९ लाख ७४ हजार, घर बहाल करबापत ५२ करोड ३५ लाख १६ हजार रुपियाँ राजस्व सङ्कलन भएको छ। आन्तरिक अनुदान १६ लाख ५४ हजार रुपियाँ, पर्यटन शुल्कबापत एक करोड ५५ लाख ५९ हजार रुपियाँ, अन्य प्रशासनिक सेवा शुल्क १६ लाख १० हजार रुपियाँ, पार्किङ शुल्कबापत ४७ लाख २३ हजार रुपियाँ, नक्सा पास दस्तुरबापत १४ करोड ३६ लाख छ हजार रुपियाँ राजस्व सङ्कलन भएको महानगरले जनाएको छ। प्रशासनिक सेवा शुल्कबापत १६ लाख १० हजार रुपियाँ, सिफारिस दस्तुर एक करोड ३२ लाख ९६ हजार रुपियाँ सङ्कलन भएको छ। 

यस्तै व्यक्तिगत घटना दर्ता दस्तुरबाट एक लाख ९६ हजार रुपियाँ, नाता प्रमाणीकरण शुल्कबाट १० लाख १७ हजार रुपियाँ, व्यवसाय रजिस्ट्रेसन दस्तुर १३ करोड ७७ लाख ५९ हजार रुपियाँ र प्रशासनिक दण्ड जरिबाना तथा जफतबाट ३८ लाख ८५ हजार रुपियाँ राजस्व सङ्कलन भएको महानगरले जनाएको छ। जनसङ्ख्याको हिसाबले देशकै ठुलो महानगरका रूपमा रहेको काठमाडौँ महानगरको मुख्य आम्दानीको स्रोत राजस्व रहेको छ। गत आवमा महानगरले लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको जनाएको छ।